कैलाली- मनाङ मस्र्याङ्दी क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्यो। पेनाल्टीमा मनाङका अन्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे। हिमालयनका उल्रिच सिवे र पिस्टन मुटाम्बाले गोल गरे।
विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके।पेनाल्टी अघि खेलको २८ औं मिनेटमा शिशिर लेखिले हेडर मार्फत गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ८० औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
अब उपाधिका लागि मनाङले फागुन २८ गते बागमती युथ क्लब युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाईनल खेल विहीबार हुनेछ।खेलपछि प्रतिक्रिया दिदैं मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक राजेन्द्र तामांगले सेमिफाईनल जितेसँगै अब उपाधि जित्ने दावी गरे ।
‘गेम एकदमै राम्रो भयो। खेलाडीहरुले अनुभव देखाए। पहिलो हाफमा केही गोल मिस भयो। केही गल्तीले गोल खान पुग्यौ । तर पनि खेल जित्यौ।’ प्रशिक्षक तामांगले भने–‘अव हामी उपाधि जित्छौ । खेलाडीहरुले मैदान पनि चिनिसके। अर्को फाईनलिष्ट टीम पनि बलियो नै हुनेछ। यसपाली हामी उपाधि लिएर नै जाने हो।’
हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगलकिशोर राईले सोचेभन्दा राम्रो खेलेको र पेनाल्टीमा भाग्यले साथ नदिएको बताए। ‘आजको खेल रोमाञ्चक रह्यो। हामीले कमब्याक गर्यौ। सोचेभन्दा राम्रो खेल्यौ। सुरुमा अमित श्रेष्ठ र लाष्ट आवरमा गोलकिपर किशोर गिरी घाईते हुँदा गाहे भयो।’ प्रशिक्षक राईले भने–‘प्रतिस्पर्धात्मक खेललाई पेनाल्टीसम्म पुर्यायौ।
पेनाल्टीमा फिप्टी फिप्टीको कुरा आउँछ । त्यसमा उनीहरु सफल भए। मनांगलाई फाईटिंग गेम खेलायौ । हाम्रा खेलाडीहरुले गेम स्प्रीट देखाए।’
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ।