बझाङ-बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको हो।
स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन्।
‘हामी कसैलाई हेलिकप्टर आउने जानकारी नै थिएन। हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेका थिए,’ थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले भने, ‘त्यसपछि हामीले प्रहरीलाई खबर गरेका थियौँ, प्रहरी पुग्नुअघि नै उनीहरु उडे।’
हेलिकप्टरमा चालकसहित पाँच जना भारतीयमूलका नागरिक रहेको उनले बताए। ‘हिन्दी बोलिरहेका थिए। साथमा नक्सा पनि बोकेका थिए,’ वडाध्यक्ष जोशीले भने, ‘उनीहरु करिब आधा घण्टा बसेपछि गए।’ हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनभिज्ञ छ।