वीरगन्ज – हृदयघातबाट मृत्यु भएका वीरगन्जका पत्रकार नरेश सर्राफको परिवारलाई वीरगन्ज महानगरपालिकाले तत्काल ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार वीरगन्जमा समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले सर्राफका परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट तत्कालका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।
यसका साथै सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा स्थापना गरिने स्मृति कोषमा महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि मेयर सिंहले गरे ।
मेयर सिंहले सर्राफकी छोरीको १० कक्षासम्मको पठनपाठनको जिम्मा पनि महानगरपालिले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।
आइतबारको श्रद्धान्जलीसभामै सर्राफको परिवारलाई रेडियो वीरगन्जले र समाजवादी प्रेस संगठन पर्साले १ र१ लाख र राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले पनि ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।
पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षीय सर्राफको यहि मंसिर १५ गते हृदयतघातबाट निधन भएको थियो ।