काठमाडौं – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताइएको छ।
जसपा संघीय परिषद्को पहिलो बैठक हिजो (शनिवार) सम्पन्न भएको थियो । सो बैठकमा परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदन सर्वसम्मतिले पास भएको छ । सोही राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिने जसपाका नेता विश्व दीप पाण्डेले बताए ।
बैठकमा कार्यकारिणी समितिको विस्तार, कार्य विभाजन, नेतृत्व प्रणालीको बारेमा छलफल हुने बताइएको छ । शनिवारको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले जसपा एक ढिक्का भएर अगाडि बढ्ने घोषणा गरेका थिए । जसपा एक ढिक्का भएर चुनावमा जाने भन्दै पार्टीमा रहेका सबै विवाद व्यवस्थापन भइसकेको पनि धारणा राखेका थिए ।