काठमाडौं – नेकपा एमाले छाडेर स्वतन्त्र चुनाव लडेका प्रभु साहले बुधबार आफ्नै अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेकै दिन अग्रगामी शक्तिहरुसँग सहकार्य र एकताका लागि तीन सदस्यीय वार्ता टोली पनि बनाएका छन् ।
पार्टी घोषणाकै दिन अरु दलसँग एकताका लागि वार्ता टोली बनाएकाले आम जनता पार्टी कति दिनका लागि हो भन्ने प्रश्न उठेको छ । मधेशको नेता बन्ने महत्वाकांक्षा बोकेका साह नयाँ पार्टी बनाएर माओवादीसँग एकता गर्ने तयारीमा छन् ।
सशस्त्र विद्रोहबाट माओवादी शान्ति प्रक्रियामा आएपछि साह पार्टीमा मधेसको नेतृत्व गर्न चाहन्थे । केन्द्रीय सदस्य हुँदै पोलिट्ब्यूरो सदस्यसम्म भएका उनले प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी पाएनन् । पछिल्लो समय तत्कालीन नेकपाको विभाजनका बेला एमालेतिर लागे । दशौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका साहले पार्टीमा मधेशको नेतृत्व दाबी गर्दै आएका थिए ।
४ मंसिरको प्रतिनिधिसभा चुनावमा एमालेले रौतहट क्षेत्र नम्बर ३ को टिकट दिएको पनि थियो । तर उनले पार्टीले दिएको टिकट खल्तीमा हालेर स्वतन्त्र उम्मेदवारी दर्ता गरे । आफूनिकट नेताहरुलाई प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिन लगाएका उनले ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान’ चलाएका थिए ।