धनगढी – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । संसदीय दलको नेता छनोट गर्न शनिबार बिहानदेखि बसेको बैठक विना निष्कर्ष टुङ्गिएको हो ।
दलको नेतामा सहमति जुट्न नसक्दा भोलि आइतबार पुनः बैठक बस्ने गरि बैठक टुङ्गिएको प्रदेश सभा सदस्य अक्कल रावलले जानकारी दिए । ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताको लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकाङ्क्षी रहेका थिए । अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्ज समेत रहेका भट्टलाई समर्थन गरेका छन् । तर भाटले दलको नेतामा आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको रावलले रातोपाटीलाई जनाए । उनले भने, ‘सहमति करिब–करिब जुटिसकेको छ । सरल (ओमविक्रम भाट)जीले छलफलको लागि समय माग्नु भएको छ । त्यही भएर भोलि बैठक बस्ने गरी आजलाई टुङ्गिएको हो । निर्णय लेख्न मात्रै बाँकी हो ।’
भोलि बस्ने बैठकले दलको नेता मात्रै छनोट गर्ने समेत बताइएको छ । बाँकी प्रमुख सचेतक, सचेतकलगायत जिम्मेवारी अर्को बैठकबाट टुङ्गिने जनाइएको छ । माओवादी स्थायी कमिटी सदस्य समेत रहेका भट्ट डडेल्धुरा प्रदेश सभा (१)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । भने, भाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी पार्टीका केन्द्रीय सदस्य हुन् ।
माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सम्भावना उच्च छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएको हुँदा माओवादीमा दलको नेता बन्न नेताहरुबीच हानथाप बढेको हो ।