कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो ।
२०७५ साल पुस २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म पुल निर्माण नहुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । सात वर्षदेखि खोलामा तीनवटा पिल्लर मात्रै छन् । एउटा पिल्लरको काम अधुरै छ । त्योबाहेक अरू कुनै काम हुन सकेको छैन ।
सडक डिभिजन कार्यालय कञ्चनपुरले भने पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण समयमा सम्पन्न हुन नसकेको जनाएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका सूचना अधिकृत पियूष चटौतले पुलको जगमा समस्या आएकाले पुनः डिजाइन परिवर्तन गरेर अर्को ठाउँमा पुल बन्न लागेको बताउनुभयो ।
सडक डिभिजन कार्यालयका अनुसार २०७७ माघ २५ मा पुलको काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा भए पनि पछि २०८० साल असार मसान्तसम्म म्याद थप भएको छ । म्याद थप भए पनि निर्माण कम्पनीले अहिलेसम्म पुल निर्माणको काम भने सुरु गरेको छैन ।
स्थानीयवासी शाहदेव रानाले पुल नहुँदा वर्षौँदेखि समस्या भोग्दै आएको बताउनुभयो । हिउँदमा काठे पुलको सहाराले नदी वारपार गर्ने गरिएको छ । पुल निर्माणका लागि २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले १४ करोड ८८ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ ।