बाजुरा-बाजुरामा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ।
जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका–६ घट्मुना तर्फ जादै गरेको ट्याक्टर चेकजाँच गर्दा ४० लिटर अवैध घरेलु मदिरा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दिलीप रोकायाले चलाएको सुप्रप्र ०१-००५९९४ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा लुकाई छिपाई गौमुल तर्फ लग्दै गरेको अवस्थामा ४० लिटर अवैध घरेलु मदिरा बरामद गरेको प्रहरी निरीक्षक धनदेब साउँदले बताएका छन्।
बरामद गरिएको अवैध घरेलु मदिरा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, ६ नम्बर वडाका वडाध्यक्ष प्रकाश बहादुर रोकाया लगायत स्थानीय जनप्रतिनिधी र सर्वसाधारणको रोहवरमा नष्ट गरिएको साउँदले बताए।
त्यस्तै बुढीगंगा नगरपालिका–६ बार्जुगाडस्थित प्रहरी चेक पोष्टमा पनि मदिरा बरामद गरिएको छ। बाम्का बजार तर्फ आउँदै गरेको देवसिंह भाटले चलाएका से १ च १२८८ नम्बरको खाद्यान्न बोकेको जिप चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको ५ पेटी ओरेन्ज नामक न्युन गुणस्तरीय अवैध मदिरा प्रहरीले बरामद गरेको हो।