काठमाडौँ – सोमबार अपराह्न एक बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा गरिएको जानकारी दिएका हुन् ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक आज एकसाथ बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाई छ ।
संघीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ । तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए । संघीय संसद्मा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ ।
अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय गरिएको छ । संघीय संसद्मा सांसदहरूले पनि ई–हाजिरी गर्ने व्यवस्था मिलाइएको छ । भोलिबाट परीक्षणका लागि राष्ट्रिय सभामा शुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद् सचिवालयले जनाएको छ ।