काठमाडौं – नेपालका ३ वरिष्ठ अभिनेत्रीको झण्डै ३ करोड रुपैयाँ एक सहकारीमा फसेको छ ।
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जित लगायतले वचत गरेको रकम उक्त सहकारीमा फसेको हो ।
तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा नेपाल चलचित्र कलाकार संघले जनाएको छ ।
संघले एक विज्ञप्ति निकाल्दै सहकारी संस्था लिमिटेडबाट कलाकार समेत पीडित भएको भन्दै न्याय दिलाइदिन सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुल उपर गराउन माग गर्दै कानुनी उपचारमा गएको जनाइएको छ ।
यस विषयमा सरकारले चासो दिएर पीडितहरुलाई न्याय दिलाउन र दोषीमाथि कानुनी कारबाही गर्न संघले माग गरेको छ । सोही सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउन्डेसनको अक्षयकोषको रकम पनि राखिएको जनाइएको छ । उक्त संस्थाबाट बर्सेनि डेढ लाख रुपैयाँ राशीको पुरस्कार वितरण हुँदै आएकोमा सो पुरस्कार वितरणलाई पनि असर परेको उल्लेख छ ।
‘मुलुकका नागरिक एवं चलचित्रकर्मीमाथि परेको आर्थिक पीडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग हामी जोडदार अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।