काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको बिक्री खुला गरेको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ३० गते नागरिक बचतपत्र २०८३ ‘क’ निष्कासन गर्नेछ। यो बचतपत्रको बिक्री खुला भने चैत १ गतेदेखि गरिएको हो ।
आज देखि आवेदन संकलन सुरु गरिएको नागरिक बचतपत्रमा चैत २० सम्म आवेदन दिन सकिन्छ । यद्यपि तोकिएको अवधिअघि नै कुल निष्कासित रकमका लागि आवेदन आए चैत २० अघि नै बन्द हुने राष्ट्र बैंकले बताएको छ । पहिलो चरणमा २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि आवेदन संकलन सुरु गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
उक्त बचतपत्रमा घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमभन्दा नबढाई १० हजार रुपैयाँले भाग निशेष जाने रकम लगानी गर्न सकिने सूचनामा उल्लेख छ । बचतपत्र परिपक्व हुने अवधि ५ वर्षको हुन्छ । यसमा लगानी गरेपछि वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । ब्याज हरेक ६/६ महिनामा पाइन्छ । प्राप्त ब्याजमा ५ प्रतिशत लाभकर लाग्छ । आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा याे बचतपत्र धितो राखेर कर्जा लिन पनि सकिन्छ ।