काठमाडौं – नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताएको छ ।
टानका महासचिव विनोद सापकोटाले एक विज्ञप्ति जारी गरी माघ १ गते आइतबार बिहान १०ः३२ बजे काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर-७२ ५०० विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताउनुभयो । “कोरोना भाइरसको महामारीबाट भर्खरै तङ्ग्रिँदै गरेको नेपालको पर्यटन क्षेत्रमा हवाई दुर्घटनाले अपूरणीय क्षति पुगेको छ”, टानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण सम्पन्न भई उडान शुभारम्भ भएको र पर्यटकीय राजधानीको रुपमा रहेको पोखरामै भएको दुर्घटनाले नेपालको हवाई क्षेत्रमा मात्र नभइ देशको समग्र पर्यटन क्षेत्रमा नै ठूलो धक्का लागेको महासचिव सापकोटाले बताउनुभयो ।
टानका अध्यक्ष निलहरि बाँस्तोलाले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्वपूर्ण कदम चाल्ने बताउनुभयो । आगामी दिनमा यस्ता दुर्घटना कसरी कम गर्न सकिन्छ भन्नेबारे राज्यको जिम्मेवार निकायले गहनरुपले सोचेर कदम चाल्ने उहाँको भनाइ थियो । नेपाल वायुसेवा निगम स्तब्ध यती एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटनाबाट नेपाल वायुसेवा निगमका पदाधिकारी स्तब्ध भएको जनाइएको छ ।
निगमले आज एक सूचना प्रकाशित गरी उक्त एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२ ५०० विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाबाट निगमका समग्र पदाधिकारी स्तब्ध भएको बताइएको हो ।
नेपालको हवाई उड्डयानको इतिहासमै भएको यो दुःखद घडीमा दुर्घटनामा परी ज्यान गुमाएका महानुभावमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्नसक्ने शक्ति मिलोस् भन्ने कामना पनि गरिएको छ । नेपाली हवाई उड्डयान क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन यस घटनाको प्रभावकारी छानबिन तथा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक हुनेमा निगमको अपेक्षा रहेको जनाइएको छ ।