कैलाली-नेपाली कांग्रेस कैलालीमा नवनिर्वाचित सभापति सहित पदाधिकारीहरुले कार्यभार सम्हालेका छन्। बुधबार पार्टी कार्यालयमा जिल्ला कार्यसमितिको पदस्थापना कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सभापति नारायणदत्त भट्ट सहितको पदाधिकारी तथा कार्यसमितिले कार्यभार सम्हालेका हुन्।
नेपाली कांग्रेस कैलालीका निवर्तमान उपसभापति प्रकाशबहादुर बमले कार्यालयको चावी, फाईल र प्रोजेक्टर सभापति भट्टलाई हस्तान्तरण गरेका छन्। सो अवसरमा सभापति भट्टले आफू सधैँ पार्टीको हितमा मात्र काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘म व्यक्ति कसैलाई मन पर्छु वा पर्दैन त्यो थाहा छैन।
मलाई गाली गर्नुस वा जे मन लाग्छ त्यो भन्नुस तर, भोट हाल्ने दिन छातीमा हात राखेर म कांग्रेस हुँ भन्नुहोस’ उनले भने ‘यदि त्यस्तो गर्नुभएन। पार्टीभित्र बसेर खुट्टा तान्ने काम गर्नुभयो कृपया माफ गर्नुहोला उहाँहरुले आजैदेखि पार्टी छोडिदिनुहोस। कहिले काही कसैलाई अन्याय पनि हुन सक्छ। पार्टी हितका बारेमा सोचिदिनुहोला।’
उनले कम्यूनिष्टहरुले राजनीतिका नाममा व्यापार गरिरहेको आरोप लगाए । जिल्ला कार्यसमितिको उपसभापतिमा भीम बहादुर बडुवाल र खेमराज डंगौरा थारु, सचिवमा नृप बहादुर सुनार र केशव राज मिश्र, सहसचिवमा कलेशुराम चौधरी र रामसमझ राना रहेका छन्।
त्यस्तै, महाधिवेशन प्रतिनिधिमा भीमबहादुर शाह, मधेशी मुस्लिम सदस्यमा सुजिता यादव, अल्पसंख्यक–अपाङ्ग सदस्यमा कृष्णप्रसाद धमला, आदिवासी जनजाती सदस्य कमलबहादुर पुनमगर तथा खसआर्य खुल्ला सदस्यमा उत्तम राज जोशी, ओमजंगबहादुर सिंह र गणेशबहादुर खड्का रहेका छन।