काठमाडौं- निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको स्थानीय निर्वाचन केन्द्रीत आचारसंहितामा नेकपा एमालेले असन्तुष्टि जनाएको छ।
आचारसंहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्नुअघि पदमा रहेकाहरूले राजीनामा दिनुपर्ने उल्लेख गरिएकामा त्यसप्रति एमालेले असन्तुष्टि पोखेको हो।
एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु नपर्ने भन्दै स्थानीय तहका पालिका अध्यक्ष वा मेयरले पनि पद खाली गर्न नहुने तर्क गरे। पालिका अध्यक्ष वा मेयरले पदबाट राजीनामा दिएर चुनावमा होमिँदा काम नै रोकिने हुँदा त्यसो गर्नु जायज नभएको उनको भनाइ छ।
‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका ‘प्रधानमन्त्री’पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरि चुनावमा जानू अघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ?’
बिहीवार प्रकाशित निर्वाचन आचार संहिताको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता अगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ।’