धनगढीः पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष नेता डा. भीमबहादुर रावल। जसले नेकपा एमालेमा हुँदा या बाहिर हुँदा जहिल्यै विधि, नीति र सिद्धान्तको कुरा गरिरहे, अहिले पनि गरिरहेकै छन्। संसद्मा होस् या बाहिर रावल देशको राष्ट्रिय स्वाभिमान र परराष्टसँग सम्बन्धित सवालहरूमा खरो उत्रिन्थे। उनको स्वभाव अहिले पनि उस्तै छ।
उनै रावलले २०७८ मंसिरमा एउटा आँट गरे। चितवनमा भएको नेकपा एमालेको १०औँ महाधिवेशनमा केपी शर्मा ओली सर्वसम्मत रुपमा पार्टी अध्यक्ष बन्ने मुडमा थिए। तर, त्यही बेला सुदूरपश्चिमको कुना (अछामबाट) राजनीति सुरु गरेर चम्किएका रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिए। प्राविधिक रूपमा रावल ओलीसामु पराजित बने तर राजनीतिक रुपमा जितेको भन्दै ख्याती कमाए। लगत्तै पार्टीले जिम्मेवारी दिने प्रयास गरेको थियो तर रावलले मानेनन्। त्यसपछि भने रावल एमालेमा ओलीविरुद्ध गएकै कारण किनारामा पारिए। रावल पछिल्लो समय नेपाली राजनीति र पार्टीमा निष्क्रियजस्तै देखिन्छन्।
उनी आफ्नै चाहनाले मौन बसेका भने होइनन्, ओलीसँग अध्यक्षमा पराजित भएपछि पार्टीले दिएको जिम्मेवारी लत्याएका रावलले संसदीय निर्वाचन ताका अछाम क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभामा चुनाव लड्न चाहेका थिए। उनको नाम एमालेको क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले समेत प्रतिनिधिसभा उम्मेदवारको लागि सर्वसम्मत रूपमा सिफारिस गरेको थियो। तर, अन्तिममा रावलले टिकट नै पाएनन्। पार्टीका अध्यक्ष ओलीले रावललाई उम्मेदवार बनाउन अस्वीकार गरे। त्यहाँ रावलको टिकट खोसेर पूर्व माओवादी खेमाका अर्का नेतालाई उम्मेदवार बनाइएको थियो।
त्यसपछि एमालेमै बसेर ओलीविरुद्ध संघर्ष गर्ने घोषणा गरेका रावल पार्टी र राजनीतिमा विस्तारै निष्क्रिय बन्दै गएका हुन्। अहिले उनी बोलेको न पार्टीमा सुनिन्छ न संसद्मै। विगतमा राष्ट्र र राष्ट्रियताका विषयमा सदन, सरकार र सडक सबैतिर चर्को वकालत गर्ने रावल अहिले यी तीनै स्थानमा भेटिदैनन्।
बेलाबखतमा रावलले एमाले छोड्ने हल्लाहरू पनि चलिरहन्छ्न्। हालै टिकट नपाएपछि बिच्किएका रावलले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्ला चलेको थियो। तर, अहिलेसम्म पार्टी प्रवेश भने गरिसकेका छैनन्। रावल अहिले एमालेको एक सदस्य र नेताका रुपमा स्थिर छन्।
प्रस्तुत छ, उनै नेकपा (एमाले) का नेता भीमबहादुर रावलसँग समसामयिक विषयवस्तुमा महेन्द्रनगर पोष्टका सम्पादक टेकसिंह धामीले गरेको संवाद
अहिलेको वर्तमान सरकार छोटो समयमै पनि आलोचनाको भूमरीमा परेको देखिन्छ ? तपाईंले चाहिँ यो सरकार र सरकारका काम कारबाहीलाई कसरी लिनुभएको छ ?
हामीले देशमा जुन परिवर्तन गरेका थियौँ। त्यो परिवर्तनले पहिलेको शासन व्यवस्थाभन्दा नयाँ किसिमले काम गर्नुपर्ने भन्दै अपेक्षा राख्यौँ। नेपालको संविधान निर्माण गर्दा पनि राजनितिक, सामाजिक, आर्थिक र राष्ट्रिय सुरक्षा लगायतका विषयमा घनिभूत छलफल गरेर संविधानमा तदनकुल व्यवस्थाहरू गरेका छौ।
उदाहरणको रुपमा संविधानको प्रस्तावनामा देशको शासन सत्ता, अखण्डता स्वतन्त्रता स्वाभिमानलाई सर्वोपरि राख्ने कुरा गर्यौ। हामीले समाजवाद उन्मुख प्रणालीमा जाने भन्ने त्यहीँ हामीले व्यवस्था गरेका थियौँ। संयुक्त राष्ट्र संघको बडापत्र पन्चशीलको सिद्धान्त अनुसार हामीले देश र शासन सत्ता चलाउने कुरामा प्रतिबद्धता गरेका थियौँ। तर त्यो कुराहरू अहिले हुन सकेको छैन।
मैले त निर्वाचनको बेला जुन गठबन्धन बनेको थियो, त्यही बेला भनेको थिएँ। यी दलहरू नीतिहीन, विचारहीन र गन्तव्यहीन चरम अवसरवादी बाटोमा छन्। यिनीहरू टिक्दैन पनि भनेको थिए। मैले भनेको कुरा सत्य प्रमाणित भयो।
आम निर्वाचनमा भएको जस्तै नीतिहीन, विचारहीन गन्तव्यहीन गठबन्धन सरकार गठनमा पनि पुनरावृत्ति भएको छ। राजनीतिलाई स्वच्छ बाटोमा हिडाउन हामीले नेपालको संविधानको धारा २६९ मा मानिसहरू सिद्धान्त, दर्शन र कार्यक्रमको आधारमा कुनै पार्टीमा लाग्छन् भनेर हामीले व्यवस्था गर्यौ। आफ्ना ती आफ्ना कार्यक्रमहरू उल्लेख गरेर निर्वाचन आयोगमा घोषणापत्र दर्ता गराउनुपर्छ। र, जे घोषणापत्रमा उल्लेख गरिएको छ त्यसका लागि पार्टीहरूले काम गर्नुपर्छ भनेर संविधानमै लेखेका छौ। तर, अहिलेका दलहरूले आफ्ना घोषणापत्र वेवास्ता गरे।
अहिले राष्ट्रपतिको विषय पनि गिजोलिएको छ। यहीँ मौकामा नेपाली कांग्रेस राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्छ भन्नेमा उद्दत देखिन्छ। कांग्रेस त प्रमुख प्रतिपक्ष होइन र ?
पहिलो कुरा त नेपाली कांग्रेस अहिले सिद्धान्तविहीन बनेको छ। उसको दलीय सिद्धान्त, मूल्य मान्यताहरू रहदै रहेनन्। अहिले नेपाली कांग्रेस राजनैतिक दृष्टिकोण र कानुनी दृष्टिकोणबाट प्रमुख प्रतिपक्षी दल नै होइन। त्यो पार्टीमा अलिकति पनि नैतिकता छ भने अब प्रमुख प्रतिपक्षको ठाउँमा होइन सरकार पक्षको ठाउँमा गएर बस्नुपर्छ। त्यहाँ सरकारको विपक्षमा जसले मत दियो ती दललाई ठाउँ दिनुपर्छ।
नेपाली कांग्रेसले एकातर्फ सरकारको पक्षमा मतदान गर्ने, अर्कोतर्फ प्रमुख प्रतिपक्षी भनिरहेको छ त्यो त्यसको दोहोरो चरित्र हो। त्यसमा पनि प्रमुख प्रतिपक्ष हुन पाउँ भन्दै निवेदन हालेछ। यो भन्दा निरीह के हुन सक्छ ? यहि सन्दर्भमा होला नेपाली कांग्रेसका नेताहरूले राष्ट्रिय सहमतिको सरकारको कुरा उठाइरहेका छन्। नेपालमा अहिले सबै पार्टीहरूले बाडिचुडि खाऊ भनिरहेका छन्, त्यसो भए बहुदल किन चाहिएको ?
बहुदलीय व्यवस्थामा बहुमत पाएको राजनैतिक दलले पाँच वर्षमा जनताले दिएको आश्वासनहरू पुरा गर्ने हो। विपक्षीहरूले सरकारले केही कमीकमजोरी गरे त्यसलाई खबरदारी गर्ने हो। यो संविधान बनाउँदा हामीले गरेको परिकल्पना पनि त्यहीँ हो। तर, आज नेपाली कांग्रेस योबाट सम्पूर्ण रुपमा च्युत भएको छ।
अब अलिकति तपाईंको पार्टीको पनि कुरा गरौँ। एमालेमै छु भन्नुहुन्छ, तर कहाँ हुनुहुन्छ ? तपाइको जिम्मेवारी के ?
हो, म आजका दिनसम्म नेकपा एमालेमै छु। हामीले ठूलो त्याग, बलिदान, मिहिनेत र संघर्ष गरेर निर्माण गरेको पार्टी हो। रह्यो, स्थान र जिम्मेवारीको कुरा त्यो स्थान कहाँ हुन्छ के हुन्छ भन्ने कुरा पार्टीको नेतृत्वले सोच्नुपर्ने कुरा हो। म हेर्नुस् पद केन्द्रित राजनीति गर्ने मान्छे होइन, र गरेको पनि छैन। यो देशका राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताको हितमा काम गर्ने हो। हाम्रो लिम्पियाधुरा लिपुलेक भारतीय अतिक्रमणमा परेका छ। अब हेरौँ सरकारले के निर्णय गर्छरु एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणा गरेको भनेको होइन त्यो व्याख्यात्मक घोषणाका व्याख्यातामध्ये एकजना त अहिले प्रधानमन्त्री हुनुभएको छ पुष्पकमल दाहाल ‘प्रचण्ड’जी।
अब उहाँ कस्तो व्याख्या गर्नुहुन्छ म त्यो हेर्न चाहन्छु। अहिले देशमा बाह्य शक्तिको सामु घुँडा टेकेर प्रत्येक कुरामा देशको अपमान भइरहेको छ। देशका नदी, सम्पदा सबै विदेशीको हातमा बुझाइ सके। चुनाव लड्न छोडेर राजदूत भेट्न आउने नेताहरू मैले देखेको छु। म त्यो कुरामा चिन्तित छु।
एमालेमा तपाईंलाई किनारामा पारिएको छ। अब भीम रावलको गन्तव्य भनेको एकीकृत समाजवादी नै हो भनिन्छ। यस्तै हो र ?
खै, त्यस्तो त मैले सुनेको छैन। हालसालै एकपटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जीले आउने कुरा हुँदैछ भन्नुभएछ। तर, त्यो होइन। मलाई यो संसदीय निर्वाचन भन्दाअघि प्रचण्डजी माधव जीले तपाईंलाई कताबाट हुन्छ हामी सहयोग गर्छौ भन्नुभएको थियो।
तपाई पार्टीमा आउनु पनि पर्दैन, तपाई जत्तिको व्यक्ति संसदमा चाहिन्छ भन्नु भएको थियो। तपाईंहरूको सद्भावको लागि धन्यवाद छ। तर, तपाईहरूसँग पनि कयौँ विषयमा मतभेद छन्। त्यस कारणले गर्दा म त्यो गर्ने स्थितिमा छैन भनेको थिए। त्यो बेला त्यति कुरा भएको हो।
त्यसपछि यस विषयमा कुरा भएको छैन। त्यसपछि निर्वाचनपछि पनि विभिन्न राजनीतिक पार्टीका नेताहरूले छ्लफल गरौ अवश्य भन्नुभएको हो, तर त्यस्तो गम्भीर छलफल अहिलेसम्म भएको छैन। हाम्रो नेकपा एमालेमा धेरै ठूलो देशभक्तहरूको पंक्ति देखेको हुनाले यो पार्टीलाई पद र स्वार्थका लागि विचलित हुने बाटोमा नलैजान मेरो प्रयास हो।
मैले जहिल्यै पनि यो पार्टीको सिद्धान्त, विधिको कुरा गरेको छु। मैले यस अघि पनि भनेको थिए पार्टीको मति र राष्ट्रिय राजनीतिको गतिअनुसार निर्णय लिन्छु भनेर।
मैले सोहीअनुसार अहिलेसम्म कुनै पार्टीमा लागिहाल्ने कुरा सोचेको छैन। तर, यो पार्टीमा काम गर्दागर्दै सदस्य हुनै पाइँदैन भनेर घचेटेको घचेट्यै गरेको अवस्थामा त्यो बेलाको कुरा बेग्लै हो। मैले सोच्नै पर्छ। तर, अहिलेसम्म मैले कुनै पार्टीमा जाने वा नेकपा एमाले छोड्ने कुरा सोचेको छैन।
एमाले अध्यक्ष केपी शर्मा ओलीले त तपाईंलाई भित्तामै पुर्याउनु भो नि। अझै घचेट्न बाँकी छ र ?
घचेटेर भित्तामा पुगाउने प्रतिशोध र निशेधको नीतिबाट प्रहार गर्ने काम त मलाई भएको छ। तर, म अहिले पनि सदस्य छु। पार्टी सदस्य नै भएको हुँदा म तल खसिसकेको त छैन नि। मैले भने सदस्य नै हुन पाइँदैन भन्न थालेपछि सोच्नुपर्छ।
अर्को कुरा, तत्कालीन नेकपामा प्रधानमन्त्री आलोपालो गर्ने विषयमा आफ्नो पालो छिटो आओस् भनेर त्यहाँ विवाद भयो। उहाँहरू अहिले प्रधानमन्त्री मिलेर खाने सम्झौता गर्नुभएको छ। उहाँहरूको विवादको कारणले गर्दा हामी जबरजस्ती तानियौँ।
अनि हामीलाई शत्रु ठान्ने कुरा त अविवेकपूर्ण अन्यायपूर्ण हो नि। अब कसैले एमालेमा बस्नै पाइँदैन भनेपछि त्यो बेला छेउबाट पनि खसाल्न खोजेको भन्ने कुरा बुझिन्छ।
तपाईं विकल्प सोच्नुपर्छ भनिरहनु भएको छ। कस्तो विकल्पको कुरा गर्नुभएको ?
सर्वप्रथम त यदी यो पार्टीमा देशको हित, पार्टीको हित सोच्ने मान्छे छन् भने त्यस्तो स्थिति किन ल्याउलान र भन्ने मेरो दृष्टिकोण हो। नेपालको संविधानले पनि प्रत्येक ब्यक्तिलाई स्वतन्त्र रुपमा पार्टी, संघसंस्था खोल्ने अधिकार सुनिश्चित गरेको छ।
राजनीतिमा विकल्प त म विकल्पै, विकल्प देख्छु। यदि पार्टी नेतृत्वले मेरो ५ दशक लामो योगदानलाई केही होइन भनेर उहिलेको निरंकुश व्यवस्थाको जस्तो गतिविधि जारी गरेको अवस्थामा विकल्प त जे पनि हुन सक्छ नि।
जस्तै ?
यो दलीय व्यवस्था हो नि, यहाँ एउटा पार्टीमात्र त छैन नि। यो पार्टीमा बस्नै नदिने भएपछि त पार्टी त अरु पनि छन्। या एउटाले मात्रै पार्टी खोलेर बस्नुपर्छ भन्ने पनि छैन। जनता पनि एउटै पार्टीको पछि लागिराख्छन् भन्ने छैन। हामी देखिरहेका छौँ। त्यस कारण विकल्प छ थुप्रै हुन्छन्।
भनेको, छुट्टै पार्टी खोल्ने कि कुनै पार्टी प्रवेश गर्ने ?
त्यस्तो त अहिलेसम्म मैले केही सोचेको छैन। अहिलेसम्म म नेकपा एमालेमा छु। एमालेमा हुँदै नयाँ पार्टी खोल्ने कि अर्कोमा जाने भन्ने कुरा आउँदैन।
थोरै निर्वाचनको कुरा गरौँ। तपाईं गृहजिल्लामा एमाले हराउन लागेको आरोप छ। तपाईंमाथि कारबाहीको माग पनि भएको छ। आफ्नै पार्टी हराउन किन लाग्नुभएको ?
यो सबै गलत र हास्यास्पद कुरा हो। त्यहाँ निर्वाचनमा मलाई उम्मेदवार नबनाएपछि म निर्णय मानेर चुप लागेर बसेको थिए। पार्टी अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवले मेरो बारेमा सार्वजनिक रुपमा अभिव्यक्ति दिनु भयो। त्यहाँका उम्मेदवारले पनि मलाई जानुपर्यो भन्नु भएको थियो।
म उम्मेदवार थिइन। मलाई उम्मेदवार नबनाउनु भएको कारण पार्टी अध्यक्षलाई सोध्छु अनि जान्छु भनेको थिए। उहाँहरूले त्यो गर्नु भएन। पछि पार्टी अध्यक्ष स्वयम कर्णाली र सुदूरपश्चिममा गएर उल्टै मेरो विरुद्धमा बोल्नुभयो।
म कहिल्यै गएको छैन। अनि देशको सवालमा बोल्दा यस्ता कुराहरूमा तैँले बोल्नै पाउँदैनस् भनिरहेको वातावरणमा मैले के तपाइहरूले राम्रो गर्नुभएको छ भनेर अध्यक्षकहाँ जानु। हिजो प्रचण्ड र ओलीजीले एकअर्काविरुद्ध बोलेका कुरा सुन्नुभएकै हो। उहाँहरू त मिल्नुभयो त। त्यैभएर ब्यक्तिगत रुपमा कोहीकसै सँग पनि मेरो द्वेश छैन। राजनीतिक रुपले जसले बोलाए पनि छलफलका लागि जान्छु।
उम्मेदवारलाई भोट नदेऊ भनेर म आएकै छैन। त्यहि आरोप लाग्ला भनेर म मौन अवधिमा अछाम गएको थिए। त्यसकारण यो भनेको आफू पराजित भएपछि आफ्नो कमजोरीमा पर्दा हाल्ने चेष्टा मात्रै हो। यहाँ त मेरो कारणले हार्नुभयो रे। त्यसो भए काठमाडौँमा वरिष्ठ उपाध्यक्षदेखि महासचिव प्रमुख सचेतक हाम्रा पार्टी अध्यक्ष ओलीका निकटका नेताहरू झापामा उहाँहरूले कसको कारणल कसको कारणले हार्नुभयो त ? यदि देशभरि मेरो कारणले हारेको हो भने पार्टीमा मेरो यत्रो प्रभाव रहेछ।
यत्रो प्रभाव भएको जाँदा जान्दै पार्टी विरोधी, कम्युनिस्ट विरोधीहरूलाई २४ ठाउँ छोड्ने मलाई किन रोकेको त ? हार्नेहरू आफ्नै गति, मतिले हारेका हुन्।
सुदूरपश्चिमका नेताहरूले तपाईंलाइ एमालेमै सकृय गराउन खोजेको देखिन्छ। तर, तपाईं तयार नै हुनुहुन्न भन्ने छ नि ?
त्यस्तो होइन। मलाई चुनावभन्दा अगाडी म नाम नै भन्छु, लेखराज भट्ट, कर्ण थापा र दामोदर भण्डारीले सिंहदरबारमा यो विषयमा कुरा गरेका हौं। यसमा कर्ण थापा जिको विशेष पहल देखिन्थ्यो। उहाँहरूले त्यो बेला तपाइको टिकट पक्का भैसक्यो। उहाँहरूले मलाई त्यो बेला एकपटक अध्यक्षलाई भेटौँ भनेर भन्नुभयो।
मैले के भने, भने आफ्नो अध्यक्षलाई नभेट्ने कुरा छैन, म भेट्छु तर उहाँले समय दिनुपर्यो त्यसो भए। उहाँले फोन गर्न नसके, उहाँको स्वकीय सचिवले मलाई फोन गरेर बोलाए म जान्छु भनेको थिए। तर त्यो फोन कहिल्यै फोन आएन।
अनि अर्को कुरा मैले हिजो देशको बारेमा बोल्दा मन्त्री नपाएर बोल्यो भनियो। पार्टी अध्यक्ष, महासचिव र जिम्मेवार पदमा बसेका व्यक्तिहरूले कसलाई कहाँ कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा उहाँहरूको कर्तव्य हो। नभए किन त्यो पदमा बस्नु पर्यो त ?
अनि २४ सिट प्रतिक्रियावादीलाई दिने अनि मैले चाहिँ हजुर टिकट दिनु पर्योभन्दै जा भनेर म जान्छु र? यदि निर्वाचन जित्नु छ भने पार्टी नेतृत्वले तपाईंको के छ रु भनेर सोध्नु पर्योनि मलाई मैले टिकटको भिक्षा माग्न जाने हो र ?
म कहिल्यै गएको छैन। अनि देशको सवालमा बोल्दा यस्ता कुराहरूमा तैँले बोल्नै पाउँदैनस् भनिरहेको वातावरणमा मैले के तपाइहरूले राम्रो गर्नुभएको छ भनेर अध्यक्षकहाँ जानु। हिजो प्रचण्ड र ओलीजीले एकअर्काविरुद्ध बोलेका कुरा सुन्नुभएकै हो। उहाँहरू त मिल्नुभयो त। त्यैभएर ब्यक्तिगत रुपमा कोहीकसै सँग पनि मेरो द्वेश छैन। राजनीतिक रुपले जसले बोलाए पनि छलफलका लागि जान्छु।
अब अहिले रेशम चौधरीको रिहाइ प्रयासको विषय पनि चर्चामा छ। सरकारले छलफल पनि गरिरहेको छ। यसबारे के भन्नुहुन्छ ?
यस विषयमा मलाई धेरै थाहा छैन। तर, चाहे रेशम जी हुनुस् चाहे पुष्प कमल दाहाल जी, रवि जी, ओली जी वा माधव जी हुनुस् संविधान र कानुनको प्रक्रिया भन्दामाथि कुनै पनि व्यक्ति हुन सक्दैन।
कसैको पदीय स्वार्थ वा निहित आकांक्षा पुरा गर्नको लागि कानुन मिच्ने काम गर्छ भने कुनै पनि लोकतन्त्रमा विश्वास गर्ने व्यक्तिले मान्न हुँदैन भन्ने मेरो दृढ धारणा छ।
अन्त्यमा, बेलाबखत कम्युनिस्ट एकताको कुरा त आइ नै रहन्छ। अहिले पनि कुरा आइरहेको सुनिन्छ। यसमा तपाईं के भन्नुहुन्छ ?
त्यो कुरा सकारात्मक हो। तर, कम्युनिस्ट शक्तिहरू एकीकृत हुने कुरा चाहे एमाले, एकीकृत समाजवादी, माओवादी, जनमोर्चालगायत सबै एकै ठाउँमा आइहाल्ने त्यस्तो आधार त म देख्दिनँ।
यदी यी सबै पार्टीका नेताहरू यो देशप्रति इमानदार छन् भने समान विचारधारा, समान दृष्टिकोण भएका राजनैतिक दलहरू एकातिर जानु पर्छ। त्यसो भएमा जनताले छनोट गर्ने अधिकार पाउँछन्।