धनगढी: कैलाली प्रहरीको प्रमुख भएर एसपी देवेन्द्र पाल आएसँगै एकपछि अर्को अप्रेशन गर्न थालेका छन्। एसपी पालले जिल्लामा लागुऔषध कारोबारी र प्रयोगकर्ता, भन्सार छलीको सामानको अवैध ओसारपसार र अवैध यौन धन्दालाई अप्रेशनको टार्गेट बनाएका छन्।
जिल्ला प्रहरी कार्यालयकाअनुसार पछिल्लो समय सदरमुकाम धनगढी क्षेत्रबाट लागुऔषध कारोबार र प्रयोगमा संलग्न व्यक्तिहरु एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन्। भन्सार छलीको सामान ओसारपासरमा संलग्नहरु पनि पक्राउ पर्ने क्रम जारी छ।
माघ दुई सातामा मात्र प्रहरीले धनगढीमा यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले चार युवतीसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी चौराहको बुढिनन्दासहितका विभिन्न चार वटा होटल सञ्चालकलाई यौन धन्दा गराएको आरोपमा पक्राउ गरिएको छ।
ती होटलबाट चार युवती र उनीहरुसँग सहबास गर्न पुगेका चार जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। उनीहरु मध्ये चार जना अनुसन्धानपछि छुटेका छन् भने ८ जनामाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) जोशीले जानकारी दिए।
धनगढीमा धेरै होटलमा प्रहरीकै मिलेमतोमा अवैध यौन व्यवसाय फस्टाएको आरोप लागेका बेला नयाँ एसपीका रुपमा पाल आएपछि भने उनले त्यस्ता होटललाई टार्केट बनाएर अप्रेशन चलाइरहेका छन्।