धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत दिने भएको छ। पार्टीको उच्च स्रोतले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दियो। यता, उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले पनि आफूहरूको समर्थन गरेको सरकारलाई विश्वासको मत दिइने जानकारी दिए। सरकारले आफ्ना माग र मुद्दाहरुलाई सकारात्मक रुपले लिइरहेको र ती कुराहरु पूरा गर्नुपर्ने पनि उनको भनाई छ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा विश्वासको मत दिने/नदिने बारे निर्णय नगर्दा मुख्यमन्त्रीले विश्वासको मत लिन अन्योल तथा ढिलाई भएको थियो। तर, उन्मुक्तिले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री रावलले भोलि प्रदेश सभामा मत लिने भएका छन्। यहाँ ७ जना प्रदेश सभा सदस्य सहित नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। सो पार्टीले टीकापुर घटनामा दोषी ठहर भइ जेल जीवन बिताईरहेका सो पार्टीका संस्थापक रेशम चौधरीको रिहाइलाइ नै प्रमुख मुद्दा बनाउदै आएको छ।