कसरी शक्ति आर्जन गर्ने र राज्यसत्तामा हालिमुहाली जमाउने यिनका लागि यो प्रमुख सरोकार र चिन्ताको विषय हो।
यसै स्वार्थसँग जोडिएर यी विकास निर्माणको कुरामा पनि निकै चासो राख्छन्।यीमध्ये राज्यसत्ताको पहुँबाट अलिक टाढा पुगेकाहरु– मुलुकको सार्वभौमिकतामा चोट पुर्याउने गरी कुनै विदेशी शक्तिले हस्तक्षेप गर्छ कि भन्ने बारेको चिन्तालाई निकै बढी जाहेर गर्छन् ।
तर यी कोही पनिः–
सत्तामा रहेका वा नरहेका राजनीतिक नाइकेहरु, पुख्र्यौली अभिजातहरु, हिजोका सामन्त तर आज दलाल खाले पूँजीपतीमा विकास भएकाहरु, हाकिम पदमा रहेका भ्रष्ट कर्मचारीहरु, ठूला ठेकेदारहरु, ठूला व्यापारीहरु, अनेकौ जालझेल गरेर राज्य र जनताबाट सम्पत्ति धुत्ने फटाहाहरु, वैधानिक वा अवैधानिक तरिकाबाट राज्यकोष लुट्ने अन्य विभिन्न भ्रष्टाचारीहरु, सूदखोरहरु आदि।यस्ताहरुले अनेकौं कुकर्म गरेर अकुत चल सम्पतिमात्र थुपारेका छैनन् , अहिले पनि यो देशको अत्यधिक उम्दा जमीन यस्तैहरुको स्वामित्व र कब्जामा रहेको छ, जबकी गरीव भूमिहीन लाखौं किसान (कृषि श्रमिक) हरुको आफ्नो स्वामित्वमा एक टुक्रा जमीन छैन जसका कारण उनीहरु चरम गरिवीको बेहाल अवस्थामा रहेका छन्।
यति बेला यस्ता आर्थिक, सामाजिक र राजनीतिक अपराधीहरुका बारेमा गहिरो अध्ययन र खोज गरी यिनका अनुचित सम्पति जफत गर्न नितान्त आवश्यक छ, यिनको स्वामित्वमा रहको जमीन बिना मुआब्जा खोसेर गरीव र भूमिहीन कृषिश्रमिकहरुमा वितरण गर्न नितान्त आवश्यक छ र कसुरका आधारमा यी अपराधीहरुलाई फेरी यस्तो हर्कत कहिल्यै गर्न नसक्ने गरी कडा कार्वाही गर्न नितान्त आवश्यक छ।
तर यी कथित कम्युनिष्टहरुले यस्ता गहन समस्याहरुका बारे अन्तस्करणदेखि नै चिन्ता जाहेर गरेको, आवश्यक पहल गरेको र संघर्ष उठाएको मैले थाहा पाएको छैन।
युगौंदेखि समाजमा कायम हुदै आएको कथित धार्मिक अन्धविश्वासहरुमा आधारित अनेकौं कुरीतिहरुबाट समाज गस्त छ। त्यस माथि नव विकसित विक्रितिहरुले नाना खाले अपराध कर्म र अमानवीयतालाई वृद्धि गरिरहेका छन्।
तर यी आफूलाई कम्युनिष्ट भन्न नलजाउनेहरुले यस्ता जटिल समस्याहरुलाई निराकरण गर्दै जाने उद्देश्यले वैज्ञानिक र वस्तुवादी चेतना र जागरणको विकासमा कतै केही प्रयास र पहल गरे पनि मैले जानकारी पाएको छैन।
लेखक ज्योतिलाल वन