कैलाली-निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्य तालिका सार्वजनिक गरेसँगै जिल्लामा उम्मेदवार बन्नेहरूको चर्चा सुरु भएको छ।गठबन्धन भित्र पनि कांग्रेस एक्लै निर्वाचनमा होमिए दुई तिहाइ जित्ने दाबी गर्दै आईरहेको छ।
‘हामी गठबन्धन गर्ने मनसायमा छैनौँ’ नेपाली कांग्रेस कैलालीका सभापति नारायण भट्ट ‘ हामी एक्लै लड्दा पनि दुई तिहाइ ल्याउने पक्का छ। ’
यस अघि २०७४ सालको निर्वाचनमा कैलालीका धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र बर्दगोरीया गाउँपालिकामा प्रमुखमा कांग्रेस विजयी भएको थियो।
त्यस्तै जानकी गाउँपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र धनगढी उपमहानगरपालिका उपप्रमुखमा कांग्रेस विजयी भएको थियो। कांग्रेसको अवस्था निकै राम्रो भएको भन्दै एक्लै निर्वाचन लड्दा पनि १३ स्थानीय तहका स्पष्ट रूपले दुई तिहाइ स्थानीय तहका जित हासिल गर्ने दाबी गरेको छ।
यता, माओवादी केन्द्रले पनि एक्लै निर्वाचन लड्ने अवस्थामा १३ मध्ये ८ स्थानीय तहमा निर्वाचन जित्ने दाबी गरेको छ। यस अघि माओवादीले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा प्रमुख जितेको थियो भने कैलारी गाउँपालिकामा उपप्रमुखमा विजयी भएको थियो। कैलालीका अधिकांश स्थानीय तहका माओवादी दोस्रो भएको थियो।
एमालेबाट उपाध्यक्ष निर्वाचित भएर एकीकृत समाजवादीमा प्रवेश गरेकि मोहन्याल गाउँपालिकाकी उपप्रमुख पनि अहिले माओवादीमा लागेकी छन्। माओवादी केन्द्रका कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्डले अहिलेकै अवस्थामा कैलालीका ८ स्थानीय तहमा जित्न सकिने दाबी गरेका छन्।
उनले कैलालीको टिकापुर, भजनी, कैलारी, गौरीगङ्गा, घोडाघोडी, चुरे र मोहन्यालमा एक्लै पनि जित्न सक्ने बताए।
यता एकीकृत समाजवादी पार्टीले पनि कैलालीमा तल्लो तह सम्मै गठबन्धन हुने दाबी गरेको छ। ‘गठबन्धन हुन्छ ’ एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले भने ‘कैलालीमा वडा सम्मै गठबन्धन हुन्छ।’
कैलालीका १३ स्थानीय तह मध्ये एमाले हुँदा जितेका स्थानीय तहमा आफ्नो पार्टीले दाबी गर्ने उनले बताएका छन् ।
एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीमा गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिकाका उपप्रमुख तथा मोहन्याल गाउँपालिकाकी उपाध्यक्षले सनाखत गरेका थिए।
अहिले मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पनि माओवादीमा लागे पनि कैलालीमा दुई स्थानीय तहका दुई उपप्रमुख मात्रै एकीकृत समाजवादीमा देखिएका छन्।
एमालेले यस अघि कैलालीका ७ स्थानीय तहमा प्रमुख र ७ स्थानीय तहमा उपप्रमुख जितेको थियो। प्रमुखमा लम्की चुहा नगरपालिका , टीकापुर नगरपालिका , चुरे गाउँपालिका , गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका प्रमुखमा एमाले विजयी भएको थियो।
उपप्रमुखमा भने टिकापुरमा बेहक अन्य छ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो। भजनीमा माओवादीबाट निर्वाचित उपप्रमुख पनि नेकपाको निरन्तरता भन्दै एमालेमै रहेकी थिइन्।
कैलालीका आधा भन्दा बढी स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा विजयी भएको एमालेले अहिलेको स्थानीय तह निर्वाचनमा पनि यस्तै नतिजा आउने दाबी गरेको छ।