धनगढीः प्रस्तावित गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन सुदूरपश्चिमका संघीय सांसद एकबद्ध भएका छन्। सुदूरपश्चिमबाट संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद प्रस्तावित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन एकतावद्ध भएका हुन।
उनीहरु मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन एकवद्ध भएर दबाब सृजना गर्नेमा सहमत भएका छन्। संघीय राजधानी काठमाडौँमा भएको छलफलमा एकताबद्ध भएर गेटा मेडिकल कलेजलाई देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन दबाब सृजना गर्न सहमत भएको पूर्वसांसद दीपक प्रकाश भट्टले बताए।
‘सुदूरपश्मिबाट प्रतिनिधित्व गर्ने सांसद साथीहरुसंग गेटालाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने बिषयमा छलफल ग(यौँ, साथीहरु सबै पोजेटिभ हुनुहुन्छ,’ उनले भने, ‘सरकारले ५ अर्ब बढि लगानी गेटामा गरिसकेकाले अब विश्वविद्यालय बनाउन ढिलाइ गर्न नहुने निष्कर्षमा पुगेका छौं।’
काठमाडौँमा उपलब्ध रमेश लेखक, एनपी साउद, नारायण मिश्र, गंगाराम चौधरी लगायत सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने ७ दलकै सांसदहरुले छलफलमा गरेका थिए। भट्टकै पहलमा सांसदहरुसंग छलफल गरिएको हो।
उनी गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनार्थ सक्रिय छन्। भट्ट सांसद हुँदा पनि संसदमा गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालय बनाउनु पर्ने आवाज उठाएका थिए।
गेटामा संघर्ष समिति नै गठन गरेर चिकित्सा विश्वविद्यालय बनाउनु पर्ने भन्दै अभियान नै अगाडि बढेको छ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयक प्राध्यापक, गैसस, नागरिक समाजका अगुवा लगायतसंग निरन्तर छलफल संवाद भट्ट सक्रिय छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन १ गते सुदूरपश्चिम आउने कार्यक्रम रहेकोले सो क्रममा गेटा मेडिकल कलेजको निरीक्षण गराएर विश्वविद्यालय बनाउन ध्यानाकर्षण गराउने उनले बताए।
‘प्रधानमन्त्री ज्यू यहाँ आउँदा गेटाको अवस्थाको अपडेट गराउँछौं, विश्वविद्यालय स्थापनाको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँछौं,’ उनले भने। त्यसअघि प्रधानमन्त्री दाहाललाई भेटेर यसबारेमा छलफल गर्ने समेत उनले बताए।