काठमाडौं – यातायात मजदुरको आन्दोलनका क्रममा बालाजु क्षेत्रमा लुटपाट र तोडफोड गर्ने ४० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता सीताराम रिजालले लोत्से मल तोडफोड गरी मोबाइल पसल लुटपाटमा संलग्न ११ जना र प्रहरीमाथि ढुंगामुढा गर्ने २९ जनालाई पक्राउ गरिएको छ।
प्रहरी प्रवक्ता रिजालका अनुसार सीसीटीभी क्यामरामा कैद भएका दृश्य र फुटेजका आधारमा आरोपी पक्राउ परेका हुन्। अन्य केही आरोपीको पनि पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी राखिएको रिजालले जानकारी दिए। फागुन १ गते बेलुकी ६ बजे यातायात मजदुरले गोंगबु नयाँबसपार्क क्षेत्रमा आन्दोलन गरेका थिए।
त्यस क्रममा नजिकै रहेको लोत्से मलमा पनि आक्रमण गरी दुई वटा मोबाइल पसलमा लुटपाट भएको थियो। त्यस्तै, काठमाडौं सुपर मार्केटमा पनि लुटपाट गरिएको थियो। प्रदर्शनकारीले सडकमा राखिएका डिभाइडर पनि जलाएका थिए।