धनगढी: सुदूरपश्चिममा प्रदेश सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। २६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो।
त्यसपछि ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता समेत रहेका कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो। शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए। २६ माघमा नियुक्त भएका मुख्यमन्त्री शाहले (आज)आइतबार विश्वासको मत लिने तयारी गरेका छन्।
उनले विश्वासको मत लिने प्रयोजनका लागि आज १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। तर सत्तारुढ गठबन्धनकै प्रमुख घटक नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पावर सेयरिङमा लिखित सहमती माग गर्दै विश्वासको मत दिन आनाकानी गरेपछि शाह समस्यामा परेका छन्। माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमती नभएको अवस्थामा विश्वासको मत दिन नसकिने बताउदै आएको छ। यस्तै उन्मुक्तिले पनि भागवण्डामा उचित व्यवस्थापनको माग अघि सारेको छ।
माओवादी र कांग्रेसको बैठक बस्दै
मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि सुदूरपश्चिममा माओवादी र कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन्। अहिले केहीबरेमा संसदीय दलको कार्यालयमा कांग्रेसको बैठक बस्ने जनाइएको छ। यस्तै माओवादीले पनि ११ बजे दलको कार्यालयमा बैठक बोलाएको छ। हिजो पनि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो।
त्यसमा ठोस कुनै निर्णय भएको थिएन। आज विश्वासको मत दिने या नदिने भन्ने बिषयमा निर्णय हुने माओवादी स्रोतको दाबी छ। कांग्रेसले पनि पछिल्लो अवस्थाबारे सांसदहरूलाई जानकारी दिन र विश्वासको मत पाउने आधार तयार गर्न दलको बैठक बोलाएको जनाएको छ।