धनगढी – डोटीमा धनगढीका एक युवकको हत्या भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजीबहादुर साउदको कुटपिटबाट हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २० गते राति कुटपिटमा परेका साउदको दोस्रो दिन (२१ गते) मृत्युु भएको हो।
साउद डोटीको पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीस्थित निर्माणाधिन स्कुलको भवनमा मजदुरका रुपमा काम गर्थे।
आइतवार राति पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीका ३५ वर्षीय डबल सेट्टी (साउद संगै काम गर्ने साथी) ले उनीमाथि कुटपिट गरेका थिए। जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी युवराज भण्डारीले आइतबार कुटपिटबाट गम्भीर घाइते भएका साउदको उपचारको लागि धनगढी ल्याउने क्रममा सोमवार मृत्यु भएको जानकारी दिए।
उनले भने, ‘२० गते राति झगडा भएको रहेछ। उनीहरु साथी रहेछन्, सुरुमा दुबैले मदिरा सेवन गरेछन्, अनि मदिराको तालमा भनाभन भएपछि आपसमा झगडा भयो। अनि साउदको पेटमा डबलले बेल्चाले हानेछन्। त्यसको दोस्रो दिन साउदको मृत्यु भयो।’
दोस्रो दिन साउदले पेट दुख्यो भनेर भनेपछि उपचारका लागि धनगढी ल्याउन खोजिएको थियो। धनगढीतर्फ ल्याउने क्रममा उनको मृत्यु भएको डिएसपी भण्डारीले बताए।
यस्तै सोमवार पक्राउ परेका सेट्टीले आफूले हत्या गरेको प्रहरीसमक्ष कबुल गरेको उनले बताए। अहिले पीडित पक्षले किटानी जाहेरी दिएको र आरोपितमाथि कानुनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।