कैलाली-धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपतिटोलमा आजदेखि सुरु हुने सुदूरपश्चिम महोत्सव स्थलमा कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ। खोपका लागि एउटा स्थल नै तयार गरेर कोभिड विरुद्धको खोप लगाईने भएको हो।
महोत्सव स्थलमै धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले कोरोना खोप लगाउन छुटेका नागरिकहरुको लागि खोप केन्द्र स्थापना गरिएको बताए। उनले भने–‘पहिलो डोज लगाएर दोस्रो लगाउन छुटेका छन्, कोही दोस्रो लगाएर बुस्टर डोज लगाउन पाएका छैनन् उनिहरुको लागि खोप केन्द्र स्थापना गरिएको हो।
धनगढी उपमहानगरपालिकालाई पुर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउने अभियानका साथ महोत्सवमा खोप केन्द्र स्थापना गरिएको हो।’
मेयर वडले खोप केन्द्र स्थापनाको लागि सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद ज्ञापन समेत दिएका छन् मेयर वडले खोप केन्द्रमा आएर खोप लगाउन आह्वान गरेका छन्।
चैत २० गतेसम्म चल्ने महोत्सवमा प्रत्येक दिन बिहान १० बजेदेखी नै खोप लगाउन मिल्ने उनले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका, बागेश्वरी असल शासन क्लब (बास) नेपाल, युनिसेफ लगाएत विभिन्न संघसंस्थाको सहयोगमा संयुक्त रुपमा खोप केन्द्र राखीएको हो।
चैत १० गते अर्थात आज देखि सुरु हुने महोत्सव २० गतेसम्म चल्ने छ। महोत्सवको उद्घाटन आज दिउँसो २ बजे सुदूरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टले गर्ने छन्।