– खगेन्द्र गिरी (कोपिला)
कांग्रेसले अचेल आफूलाई समाजवादी भन्दा बढी उदारवादी भन्न रुचाउँछ। कांग्रेसभित्र उदारवादी ब्यानर बोकेर अनुदारवादी चरित्र प्रस्तुत गर्नेहरुको पङ्क्तिमा रामचन्द्र पौडेल एक नम्बरमा पर्छन्।
-यिनले काशीबाट संस्कृतमा राम्रै अङ्क ल्याएर उच्च शिक्षा पाएका रहेछन्। त्यस्तो अङ्क ल्याउनेलाई पञ्चायतकालमा राजाको बाहुलीबाट “महेन्द्र विद्या भूषण” पदक दिने चलन थियो। यिनले भने तातो क्रान्तिकारिताको प्रदर्शन गरेर सो पदक बहिष्कार गरेका थिए। शिक्षालाई राजनीतिसंग जोड्नु यिनको अनुदारवादी संकीर्णता हो। तर पहिले आफैले बहिष्कार गरेको महेन्द्र विद्या भूषण २०४८ सालमा आफू मन्त्री हुँदा उनै राजाको हातमा लाजै नमानेर थापेका थिए।
-२०४६ सालको परिवर्तनपछि कांग्रेसका योगप्रसाद उपाध्याय र २०४८ को चुनावपछि वासुदेव रिसाल सञ्चारमन्त्री भए। २०४८ सालमा रामचन्द्र पौडेल स्थानिय विकास मन्त्री भए। पहिले यो मन्त्रालयलाई पञ्चायत तथा स्थानीय विकास मन्त्रालय भनिन्थ्यो। पञ्चायती व्यवस्थालाई ढालेर बहुदल आइसकेको अवस्थामा पनि यिनले पञ्चायत शब्दप्रति पूर्वाग्रह राखेर पञ्चायत शब्द जोडिएका नाम र प्रतीकहरु फेरे। स्थानीय निकायबाट पञ्चायत शब्द झिकेर विकास समिति बनाए। पञ्चायत विकास प्रशिक्षण केन्द्रले विकेन्द्रिकरणलाई बलियो पार्न स्थानीय निकायका पदाधिकारीलाई तालिम दिन्थ्यो। रामचन्द्रले यो संस्थालाई भंग गरेर हजारौं कर्मचारीको दैनिकीरोटी खोसे। यसरी जागिर खोसिनेमा प्रसिद्ध गायक प्रेमप्रकाश मल्ल पनि थिए।
-रामचन्द्र पौडेल स्थानीय विकासमन्त्री हुँदा पञ्चायतका अनेक निकायमा रहेका पञ्चायतकालीन ऐतिहासिक दस्तावेजहरु, राजासम्बन्धि पुस्तकहरु र पञ्चायतकालीन तस्वीरहरु जलाएर नष्ट गरे। सञ्चारमन्त्रीसंग मिलेर रेडियो नेपालमा रहेका राष्ट्रभक्तिपूर्ण गीतहरु बजाउन प्रतिबन्ध लगाए, पञ्चायतकालका चर्चित गायकका गीत हराए, लुकाए, नष्ट गरे। जसमध्ये एउटा गीत थियो श्री ५ महेन्द्रको महावाणी “म मरे पनि मेरो देश बाँचिराखोस्” बाट बनेको गीत।
-रामचन्द्र पौडेल सभामूख हुँदा कुख्यात महाकाली सन्धी पारित गराए। भारतीय आप्रवासीलाई नागरिकता दिन सहज हुने गरि नागरिकता संसोधन विधेयकलाई अर्थ विधेयक भन्दै ढाँटेर पारित गराएपछि सर्वोच्च न्यायालयले त्यसलाई संविधान विपरित भनेर निरस्त गरेको थियो। गिरिजाले प्रतिनिधि सभा भंग गर्दा ताली पिट्ने रामचन्द्रले मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्दा भने सर्वप्रथम विरोध गरेका थिए।
-गृहमन्त्री हुँदा दरवार हत्याकाण्डको सत्य तथ्य थाह नलाग्दै सो काम युवराज दीपेन्द्रले गरेका हुन् भनेर अन्तरराष्ट्रिय मिडियामा दीपेन्द्रलाई दोषी देखाउने पहिलो व्यक्ति यिनै हुन्। बाबुरामले श्री ५ ज्ञानेन्द्रलाई दोषी देखाए। दरवार हत्याकाण्डको घटनाक्रम र यिनीहरुको हतारिलो प्रतिक्रियालाई हेर्दा यी दुई जना दरवार हत्याकाण्डलाई रहस्यमय बनाएर जनमानसको ध्यान भड्काउने र षडयन्त्रको जानकारी पाएका मूख्य पात्रजस्ता देखिन्छन्।
-रामचन्द्रले शान्ति तथा पुनर्निर्माणमन्त्री हुँदा माओवादीलाई राजनीतिक निर्णयको आधारमा सबैभन्दा बढी सरकारी रकम दिएर भयङ्कर आर्थिक चलखेल गरेका थिए।
-केही मान्छेहरु यिनी राष्ट्रपति चुनिंदा संस्कृत पढेको मान्छे भन्दै संस्कृतको मान बढ्यो भनेर बधाईका ओइरो दिइरहेका छन्। तर यिनी मन्त्री रहेको मन्त्रीमण्डलले नै २०४८ सालमा संस्कृत भाषाको पठनपाठन रोकेको थियो। त्यतिखेर यिनले संस्कृतको पक्षमा चुँ पनि बोलेका थिएनन्।
-केही मान्छेहरु यिनलाई देशको पहिलो ब्राह्मण राष्ट्रप्रमुख भनेर बधाईको ओइरो दिइरहेका छन्। तर यिनी धार्मिक र आध्यात्मिक व्यक्ति नभएर भौतिकवादी समाजवादी नास्तिक हुन्। पहिले यिनी धर्म र संस्कृतिलाई पाखण्ड भन्दै विरोध गर्थे। पछिपछि धार्मिक देखिदा भोट पाउने संभावना बढेपछि यिनी नैष्ठिक हिन्दु ब्राह्मण देखिने अभिनय गर्न थालेका हुन्। बनारसमा हुँदा एक दिन पनि विश्वनाथ मन्दिर नपसेका रामचन्द्रलाई इङ्गित गरेर एकुन्ताका किसुनजी जस्तै “मदिरा र मासुप्रेमि ब्राह्मण” भनेर हाँसो गरिन्थ्यो। देशलाई धर्म निपरेक्ष बनाउन छद्म भूमिका खेल्ने दुईजना मुख्य ब्राह्मण पात्र हुन् रामचन्द्र पौडेल र केपी सिटौला। ब्राह्मणमाथि अनेक कोणबाट प्रहार हुँदा यिनले प्रतिकार गरेको कहिल्यै सुनिएन।
-आफूलाई प्रजातन्त्रवादी र उदारवादी पार्टी भन्ने पार्टीको नेता भएर पनि रामचन्द्र पौडेलको चरित्र, स्वभाव र राजनीति कहिल्यै उदार देखिएन। यिनले पार्टीको घेरोभन्दा माथि उठेर देशको लागि बोलेको र निर्णय गरेको कहिल्यै सुनिएन।
-उदार र स्वतन्त्रचित्त भएको मान्छे बस्नुपर्ने राष्ट्रप्रमुखको गहकिलो आसनमा पुगिहाले पनि रामवरण यादव र विद्या भण्डारी जस्तै रामचन्द्र पौडेल पनि एकपक्षीय र आफ्नै पार्टीको नेता मात्रै भएर साँगुरिने संभावना प्रबल छ।
- यस्ता अनुदार रामचन्द्रलाई उदार भएर बधाई कसरी भनिहाल्नुँ ?