कैलाली-सामाजिक सुरक्षा रकम पाउन अझै सहज हुन नसकेको जेष्ठ नागरिकहरुले गुनासो गरेका छन्। आइतबार धनगढीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
सरकारले सहजताका लागि बैंकबाट रकम बुझ्ने व्यवस्था गरे पनि सहज बन्न नसकेको उनीहरुको गुनासो छ। ‘सरकारले बैंकमा स्वयं व्यक्तिको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता रकम दिने व्यवस्था गरेको छ’, धनगढीका ज्येष्ठ सदस्य कुलबहादुर हमालले भने, ‘तर, बैंकमा पुग्दा सहजै पाउने अवस्था हुँदैन।
लामो समय लाइन लाग्नुपर्ने हुन्छ। त्यसले गर्दा समस्या हुन्छ।’ ७० वर्षमाथिका मानिस शारीरिक रुपमा त्यसै पनि अशक्त भइसकेको हुँदा लाइन लाग्नुपर्ने समस्या हुने गरेको उनले गुनासो गरे। उनले सरकारले दिने ‘क’ र ‘ख’ वर्गको अपांगता परिचय पत्रमा पनि विभेद हुने गरेको बताए।
यस्तै, अर्को ज्येष्ठ नागरिक धर्मानन्द अवस्थीले बैंकमा ज्येष्ठ नागरिकलाई छुट्टै काउन्टर नहुँदा समस्या हुने गरेको बताए। ‘बैंकमा राम्रो व्यवस्था हुँदैन। त्यसले गर्दा रकम बुझ्ने समस्या भएको हुन्छ। यसले गर्दा मजस्ता ज्येष्ठ नागरिकलाई सहिनसक्नु पीडा हुन्छ।’
यस्तै, शारीरिक रुपमा अशक्त नन्दराज भट्टले तराईमा अपांगता भएको व्यक्तिका लागि सहज भए पनि पहाडमा समस्या हुने गरेको बताए।कार्यक्रममा अर्का शारीरिक रुपमा अशक्त भएका मानबहादुर बस्नेतले सरकारले दिने सामाजिक सुरक्षा भत्ताले जीवन निर्वाहमा अपुग हुने गरेको गुनासो गरे । ‘सरकारले दिने अपांग भत्ताले मात्र जीवन चल्दैन’, उनले भने, ‘शारीरिक रुपमा अपांग भएका व्यक्तिलाई आयआर्जनका कार्यक्रम दिन आवश्यक छ ।’
कार्यक्रममा लक्ष्मी विकास बैंक धनगढी शाखाका प्रमुख दिवाकर जोशीले सामाजिक सुरक्षा रकम वितरणमा आफूहरुले व्यवस्थित गरिरहेको दाबी गरे।
कार्यक्रममा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, वडा सचिव, जनप्रतिनिधि, प्रहरी र पत्रकारको उल्लेख्य सहभागिता रहेको थियो।