काठमाडौँ – मिटरब्याजीहरूको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले विरोध गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले मिटरब्याजबाट पीडित नागरिकलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले सो आयोग बनाउने निर्णय लिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।
सांसद गैरेले मिटरब्याज पीडितहरूलाई अलमल्याउने गरी सो उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरूलाई कारवाही गर्न पनि सरकारसँग माग गरे । उनले भने, ‘यो मिटरब्याजीबाट पीडित भएका नागरिकहरूमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ, यो करेक्सन हुनु पर्छ र तत्काल पीडकहरूले कारबाही पाउनु पर्छ भन्ने कुरालाई म सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यस अवसरमा सांसद गैरेले प्रतिनिधिसभा बैठकको शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुको प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूले जवाफ दिने अनिवार्य व्यवस्था गर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षणसमेत गराए ।