समस्यामा परेका डडेल्धुरावासीलाई एक करोड बढी आर्थिक सहयोग
– राम धामी
डडेल्धुरा – जापानमा व्यवसाय गर्दै आएका अमरगढी नगरपालिका–४ खलंगा निवासी समाजसेवी विनयप्रकाश मल्ल दुःख परेका बेला गरीबका साहारा बन्न थालेका छन । उनले बिभिन्न विपत्तीमा परेका डडेल्धुराबासीका लागि हालसम्म एक करोड बढि आर्थिक सहयोग गरिसकेका छन् ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीहरुले उपचारका लागि, समाजसेवीहरुले बिभिन्न समाजिक कामका लागि र यँहाका सामुदायीक विद्यालयहरुले समेत आर्थिक सहयोग आवश्यक परेमा समावसेवी मल्ललाई सम्झिन्छन । मन्दिर निर्माण, धार्मिक कार्यक्रमदेखि खेलकुद प्रतियोगिता आयोजना गर्न डडेल्धुराबासीले मल्लसँग सहयोगको याचना गर्छन । सहयोग माग्नेलाई निर्धक्क आर्थिक सहयोग गर्ने मल्लको बानीका कारण आर्थिक समस्या परेका जो कोहीले मल्ललाई सम्झिन्छन् ।
डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिकाका ११ वटै वडामा रहेका बिभिन्न सामुदायीक विद्यालयहरुमा ६० हजार रुपैयाँदेखि दुई लाखसम्मको अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेका मल्लले जापानमा मल्ल किङ्स कम्पनी सञ्चालन गरिरहेका छन । बिभिन्न रोगको उपचार गरिरहेका बिरामी, सवारी दुर्घटनाका घाइतेहरु र सामाजिक सुरक्षा भत्ताबाट बञ्जित स्थानीयलाई सहयो गर्न मल्ल किङ्ग्स कम्पनी जापानमा कार्यरत कर्मचारीहरु र अन्य शुभचिन्तकमार्फत मल्लले हालै ९० हजार रुपैयाँ संकलन गरेर पठाएको र सो रकम नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले सम्बन्धित ब्यक्तिहरुलाई हस्तातन्त्ररण गरेको छ ।
मल्ल किङ्ग्स कम्पनीमा आवद्ध कर्मचारी तथा शुभचिन्तकको तर्फबाट ९० हजार सहयोग पठाइएको जापानमा रहेको कम्पनीका सञ्चालक समाजसेवी मल्लले जानकारी दिए । मोटरसाइकल दुर्घटनाबाट घाइते भएका गन्यापधुरा गाउँपालिका– ३ का प्रहरी कर्मचारी हर्केश बिष्टको उपचारका लागि यसपटक थप २५ हजार रुपैयाँ सहयोग गरिएको छ । समाजसेवी मल्लले यसअघि बिष्टको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।
हाल काठमाण्डौंमा उपचाररत विष्टलाई भेटेर समाजसेवी मल्लका साथीहरुले बिष्टलाई रकम हस्तान्त्रण गरेका छन । गन्यापधुरा–१ की क्यान्सर पीडित धर्मादेवी महताको उपचारका लागि १५ हजार, अमरगढी–१ का दुर्घटनाबाट घाइते नरेन्द्र ऐरको उपचारका लागि १५ हजार, दुर्घटनाबाट घाइते अमरगढी–१ मालमका जगतसिंह बिष्टको उपचारका लागि १५ हजार, रुखबाट खसेर गम्भीर घाइते भएकी अजयमेरु गाउँपालिका–३ निवासी जमुना चन्द मल्लको लागि १० हजार र सामाजिक सुरक्षा भत्ताबाट बञ्चित अमरगढी–३ मरकट्टेकी ९१ वर्षीय अनितादेवी बिष्टका लागि १० हजार रुपैयाँ नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको कार्यालयबाट वितरण गरिएको नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका सचिव पुष्कर भण्डारीले जानकारी दिए ।
नेपाली नागरिकताको प्रमाण पत्र नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट बञ्चित अमरगढी–३ मरकट्टेकी ९१ वर्षीय बिष्टले विपन्नताका कारण सदैव आर्थिक समस्यामा परिरहेको बताउँदै जापानबाट रकम पठाउने समाजसेवी मल्लप्रति आभार ब्यक्त गरिन । उनले समाजसेवी मल्लजस्ता मनकारी युवाका कारण आपत विपत्मा परेका नागरिकहरुले सहयोग प्राप्त गरिरहेको बताउँदै समाजसेवी मल्लको दिर्घायुका लागि आर्शिवाद दिइन् ।
सवारी दुर्घटनामा घाइते नाती नरेन्द्र ऐरलाई प्रदान गरिएको सहयोग रकम बुझ्न आएका बाजे रामबहादुर ऐरले समाजसेवी मल्लको सामाजिक भावनाको उच्च कदरगर्दै समाजिक सेवामा उनको थप सफलताका लागि प्राथना गरिरहेको बताए । समाजसेवी मल्लले हालसम्म डडेल्धुरा जिल्लामा एक करोड भन्दा बढि आर्थिक सहयोग गरिसकेको र विपत्तीमा परेका जुनसुकै ब्यक्तिलाई पनि दिल खोलेर आर्थिक सहयोग गरिराख्नु भएको स्थानीय अगुवा श्याम सिनालले बताए ।
समाजसेवी मल्लले उपकार कोष स्थापना गरेर समस्यामा परेका जिल्लाबासीहरुलाई सहयोग गर्ने तयारी गरिरहेको बताएका छन । उनले जिल्लाको शैक्षिक सुधारका लागि जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्ने, उपचार खर्च नभएका विपन्न समुदायका विरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्ने र दुर्गमस्थानहरुमा खानेपानी, शौचालय निर्माण, सिँचाई योजना र बाटोघाटो निर्माणका लागि समेत आर्थिक सहयोग गर्ने हिसाबले उपकार कोष सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।