काठमाडौं – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव दिउँसोदेखि साँझसम्म सिंहदरबारमा भेटघाटमै व्यस्त छन । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएसगैं भारतीय राजदूत श्रीवास्तव मन्त्रीहरुलाई भेटेर बधाई तथा शुभकामना दिने उद्देश्यले सिंहदरबारमा देखिएका हुन् ।
राजदूत श्रीवास्तव ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्रीसँग भेटवार्ता गर्न दिउँसो पौने ३ बजे ऊर्जा मन्त्रालय पुगेका थिए । भारतीय दूतावास स्रोतका अनुसार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग राजदूत श्रीवास्तवले झण्डै आधा घण्टा कुराकानी गरेका थिए ।
लगत्तै अर्थमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको उनको मन्त्रिपरिषद् बैठकका कारण साढे २ घण्टा पछाडि सरेपछि साँझ साढे ६ बजे अर्थ मन्त्रालय पुगेका थिए । अर्थमन्त्री डा. प्रकाशशरण महत र राजदूत श्रीवास्तवबीच साँझ ७ बजेसम्म छलफल भएको मन्त्रालय स्रोतले बताएको छ ।