काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानको अगाडि बज्ने धुन हटाउनुपर्ने बताएका छन्।
चुनावी कार्यक्रमका लागि बारा पुगेका उनले आज त्यहाँ आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। ओलीले राष्ट्रिय गान अगाडि ‘प्याप्या‘ धुन हटाइनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराए।
‘म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु- राष्ट्रिय गान अगाडि ‘प्याप्या‘ धुन बजाउँछ। सयौं थुंगा फूलका हामी भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ। त्यो राष्ट्रिय गानभित्र पर्दैन’, अध्यक्ष ओलीले भने, ‘र, राष्ट्रिय धुन पनि होइन। अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु। सरकारले यस्ता कुरामा ध्यान दिओस्। राष्ट्रियगान शब्दको धुनमा सुरु हुन्छ र शब्दको धुनमा अन्त्य हुन्छ।’
त्यस्तै, राष्ट्रिय गान गाउँदा छातीमा हात राख्न पनि नपर्ने ओलीको भनाई छ। ‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन’, उनले भने।