महेन्द्रनगर – पछिल्लो समय मिटरव्याजका अनेक स्वरुप देखिन थालेका छन्। यसले आर्थिक अवस्था कमजोर भएको निम्न वर्गीय समुदाय प्रताडित छ। कञ्चनपुरको बेलौरीमा आर्थिक अभावको मौका छोपेर ऋण लगानी गर्दै अन्तिममा जग्गा जमिन हडप्ने गरेको घटना बाहिरिएको छ।
एकै व्यक्तिले तीन/चार जनालाई ऋणमा धोकाधडी गर्दै अन्तिममा जग्गा जमिन हडपेर बिचल्ली बनाएको पीडितको गुनासो छ। प्रहरी र स्थानीय तहले दुखेसो नसुनेपछि ती पीडीतहरुले जिल्ला प्रशासन कार्यालय गुहारेका छन्।
बेलौरीमा भएका केही प्रतिनिधिमूलक घटना
भान्जाले पुर्जा लगे, जमिन अर्कैलाई भिडाए
वि.सं. २०७४ साल तिरको कुरा हो। बेलौरी नगरपालिका–१० की मिना चौधरीको परिवारले पसल थाप्ने योजना बनायो। घरायसी सल्लाहपछि कपडाको पसल थाप्ने योजना बन्यो।
तर उनीहरुसँग त्यसको लागि लगानी थिएन। केही जमिन बेचेरै भएपनि आर्थिक स्रोत जुटाउने घर सल्लाह भयो। पैसाको खाँचो परेको त्यो समयमा चौधरीका देबर नाता पर्ने सरोज चौधरी सम्पर्कमा आए।
सरोज मिनाका ससुराका भान्जा हुन। सरोजले मिनाको परिवारलाई बैंकमा चिनजानको मान्छे रहेको र सहुलियत ब्याजमा ऋण निकालिदिने सुनाए। त्यहीबाट सुरु भयो, जालसाजीको श्रृखला।
त्यती बेला सरोजले मामा बमबहादुर चौधरीलाई भनेका थिए, ‘बैंकका मान्छेसँग मेरो राम्रो चिनजान छ, तपाई ऋण लिदै हुनुहुन्छ्, सस्तो ब्याजदरमा म व्यवस्था मिलाइदिन्छु।’
भान्जाले भनेपछि मामा बमबहादुर खुसी भए। उनले जालसाजी बुझेनन्। ‘ठिकै छ, हामीलाई पैसाको आवश्यकता छ, भान्जाले ऋण खोज्दिने भए राम्रै भयो’ उनले यस्तै गमे।
सरोजले मामासँग बैंकमा धितो राख्न जग्गाधनी पुर्जा मागे। बमबहादुरले आफ्नो नाममा रहेको २१ कट्ठा जमिनको पुर्जा उनलाई दिए।
सरोजले पुर्जा लगेको एक वर्ष भन्दा बढि भइसक्दा पनि ऋण पाएनन्। सरोजलाई सोध्दा उनी ‘कारोबार भइरहेको छैन, मिलाउँदै छुँ’ भनेर जवाफ फर्काउथे। जसरी पनि ऋण दिलाउने आश्वासन दिइरहन्थे। बमबहादुर निरक्षर छन्। उनले भान्जा सरोजले भने अनुसार नै सबै कागजपत्रमा औँठा छाप लगाएका थिए।
२०७९ असार/साउनतिर फिल्मी शैलीमा बेलौरी नगरपालिका–४ का राज चौधरी बमबहादुरको घरमा आए। उनले बमबहादुरलाई जमिन खाली गर्न उर्दी दिए। उक्त जमिन आफूले किनिसकेको राजले बताए। बमबहादुर छागाबाट खसेझैँ भए, ऋण निकाल्न पुर्जा दिएको जमिन कसरी बेचियो?
मालपोत कार्यालय बेलौरीमा बुझ्दा जमिन राज चौधरीको श्रीमती रिताको नाममा रहेको देखियो। भान्जा सरोजले बैङ्किङ कारोबार गर्छु भनेर लगेको जमिनको पुर्जा जालसाजी गरेर अर्कैलाई बेचेको बमबहादुरले पत्तो पाए।
सरोजले ऋण दिलाउने प्रलोभनमा आफ्नो फाइदाको लागि बमबहादुरको पुर्जा लगेर राज चौधरीसँग पैसा लिएको देखिन्छ। बमबहादुरले सरोजसँग बुझ्दा आफुले ८ लाख जतिको कारोबार गरेको बताइरहेका छन्।
सरोजले आफुसँग २८ लाख भन्दा बढी रकम लिएको राजको दाबी छ। २८ लाख तिरेमा मात्र जमिन फिर्ता गर्ने राजले बताउने गरेको मिनाले सुनाइन। आफुले लिदै नलिएको यति धेरै पैसा कसरी चुक्ता गर्ने चिन्ताले मिनाको परिवार रनभुल्लमा परेको छ।
परिवारले न्यायको लागि पालिकाको न्यायीक समितिमा निवेदन दियो तर दर्ता गरिएन। मिना प्रहरीमा पनि गइन। प्रहरीका हाकिमले यो केस हामीले हेर्न मिल्दैन भनेर न्यायीक समितिमा जान सल्लाह दिएको पीडित परिवारले बताएको छ। मिनाले आफूले नगरपालिकामा २/३ चोटि निवेदन पेस गर्दा पनि दर्ता नगरेको बताइन्।
छोरालाई विदेश उडाए, आफू ब्याजको दलदलमा फसे
बेलौरी नगरपालिका–८ पचुइका घुम्मन रानाले छोरालाई विदेश पठाउने योजना बनाए। पढाइको लागि छोरा जर्मन जाने भएपछि त्यसको लागि ठूलो लगानीको आवश्यकता थियो। घुम्मन कृषक भएकाले एकैचोटि ठूलो लगानी गर्ने हैसियत उनको थिएन।
घुम्मनका तीन भाई छन्। सबैको अंशबण्डा भइसकेको छ। घुम्मनको नाममा करिब एक विघा भन्दा बढी जमिन थियो। छोराको पढाइको लागि उनले १२ कट्ठा जमिन बिक्री पनि गरे। २०७२ सालमा छोरालाई बिदेश पठाउन ३ लाख जति रकम अपुग भयो घुम्मनलाई। त्यो कुरा उनले आफ्नो गाउकै साथी भरोसा रानालाइ सुनाए।
घुम्मनलाई भरोसाले ३ लाखको बन्दोबस्त मिलाइदिने व्यक्ति खोजिदिने भरोसा दिलाए। फेरि जोडिए, बेलौरी नगरपालिका–४ कै राज चौधरी। पहिलो भेटमै राजले ३ लाख रुपैयाँ दिन सहमत भए, तर सर्तनामासहित।
राजको सर्त थियो, घुम्मनको घर भएको जमिन आफ्नो नाममा नामसारी गर्नुपर्ने। ६ महिना पछि पैसा फिर्ता गरेर मात्रै जमिन पाउने। घुम्मनलाई त्यतिबेला पैसाको आवश्यकता थियो। ६ महिनापछि पैसा फिर्ता गरेमा जमिन पाउने कुरामा दुबै पक्ष सहमत भए।
०७२ पुस २६ गते घुम्मनले ६ महिनामा पैसा फिर्ता गरी जमिन आफ्नै नाममा गर्ने, पैसा फिर्ता नगरेमा सोही बमोजिमको ब्याज साहु राज चौधरीलाई तिर्ने सहमतिको तमसुक बनाइएको थियो। तमसुक अनुसार घुम्मनले ब्याजसहित ४ लाख २० हजार रुपैयाँ तिर्नुपर्ने देखिन्छ। घुम्मनले राजबाट ३ लाख नगद लिएका थिए।
घुम्मनका अनुसार, उनले पैसा लिएपछि बेला–बेला ब्याज तिरे। एकपटक त ५० हजार नै दिए। र, ६ महिनाको भाका पूरा हुन थालेपछि आफूले बाँकी रहेको पैसा बुझाएर जमिन फिर्ता लिन खोज्दा साहु राज चौधरीको नियत फेरियोे। सहमति अनुरुप बनेको तमसुक अनुसार उनी अगाडी बढेनन।
धेरै समय सम्पर्कमा नआएपछि सुरु भयो राज चौधरीको नाटक। भाका राखेको समय ६ महिना भन्दा बढी भयो। जति समय बढ्दै गयो, पैसा पनि मिटर झैँ बढ्दै गयो। ६ महिनामा दिनुपर्ने ४ लाख २० हजार रुपैया १ वर्षको अवधिमा १५ लाखसम्म पुग्यो। घुम्मनले राजको नियत जमिन हड्प्ने नै रहेको बुझे।
आफुसँग रहेको साढे ४ कट्टा जमिन, त्यसैमा बनेको पक्की घर। त्यो जमिन थियो राजको नाममा। त्यसलाई फिर्ता गराउनु थियो। घुम्मन पनि १५ लाख दिन तयार भए। तर त्यो बुझेपछि राज चौधरीले अझै रकम बढाए। ३६ लाख रुपैयाँ दिनुपर्ने माग राखे।
‘३ लाख लिएको थिए, ३६ लाख कसले तिर्ला र? उसको उद्धेश्य ब्ल्याकमेल गर्नु थियो, मसँग भएको जमिन राज चौधरीले आफ्नो नाममा हालेका छन्, अब मैले के गर्ने? ऊ बेला–बेला यहाँ आएर घर खाली गर्न भन्छ,’ घुम्मनले बिलौना गरे।
२ लाख ऋण लिए, १८ लाख तिर्दा पनि जग्गा पाएनन्
बेलौरी नगरपालिका–१० बस्ने काली चौधरीका श्रीमानको मृत्यु भएको ५ वर्ष पुग्यो। श्रीमान पुष्पराम चौधरीको ०७५ बैशाखमा निधन भएको थियो। त्यसपछि घरायसी जिम्मेवारी उनकै काधमा आइलाग्यो।
श्रीमानको उपचार क्रममा पैसा खर्च भएको थियो, कालीको काधमा ऋण थपियो। श्रीमानको मृत्युपछि ऋण तिर्न अप्ठ्यारो भयो। उनलाई ऋण परेको खबर पाए राज चौधरीले।
काली चौधरीको नाममा रहेको जमिन आफ्नो नाममा गरे। पैसा फिर्ता गरेमा जमिन दिने गरी कागज बनाए।
कालीका अनुसार राजले जमिन आफ्नो श्रीमती रिताको नाममा रजिष्ट्रेसन पास गरे। कालीका अनुसार राजले ०७६ मा २ लाख दिएका थिए। ०७७ फागुनमा पैसा फिर्ता गरी जमिन फिर्ता गर्ने तमसुख बनाइएको थियो। तमसुखमा कालीको ८ लाख कर्जा तिरिदिएको कागज बनाइएको छ।
‘राजसँग अहिले जमिन फिर्ता माग्न जाँदा १८ लाख रुपैयाँ दिए मात्रै फिर्ता गर्ने भन्छ,’ कालीले भनिन् ‘राजले मलाइ दिएको २ लाख मात्र हो, १८ लाख दिए मात्रै जमिन फिर्ता गर्छु , पैसा नदिए जमिन खाली गर भन्छ।’
निवेदन दर्ता भइसक्यो, कारबाही हुन्छ : प्रजिअ अर्याल
यीनै तीन जना मिटरब्याज पीडितले बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गरेका छन्। बेलौरी नगरपालिका–८ बस्ने घुम्मन राना, १० की मिनाकुमारी चौधरी र काली चौधरीले सोहीँ नगरपालिका–४ बस्ने राजकुमार चौधरी र उनकी श्रीमती रिताविरुद्ध जालसाँजी गरी दवाबमा पारेर करोडौं पर्ने जग्गा ८० हजारदेखि ८ लाखसम्ममा आफ्नो नाममा पास गरेको आरोप लगाएका छन्।
अहिले पैसा फिर्ता गर्दा ८ लाखको ३० लाख माग्दै जग्गा दिन आनाकानी गरेकोले प्रशासन गुहार्न आइपुगेको पीडितहरुले बताएका छन्। उनीहरुले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई लिखित उजुरी दिए।
पीडित मिना चौधरीले भनिन्, ‘हामीले लिएको रकम ब्याजसहित फिर्ता गर्दा समेत नलिएर धेरै पैसा माग्न थाले, जग्गा नाममा पास गर्दा भएको सहमतिभन्दा राज चौधरीले बढी रकम माग्न थाले, अहिले पैसा दिएर पनि जग्गा दिइरहेका छैनन्, उल्टै बाहिर हल्ला ग-यो भने अहिले उठाउँछु, पिटेर लखेट्छु भन्दै धम्की दिन्छन्।’
यसअघि उनीहरुले बेलौरी नगरपालिकाको न्यायीक समितिमा समेत उजुरी दिएका थिए। नगरपालिकाले भने उजुरी दर्ता नगरेपछि प्रशासन धाउन परेको पीडित घुम्मन रानाले बताए।
यसबारे प्रमुख जिल्ला अधिकारी अर्याल भन्छन्, ‘उहाहरुँको उजुरी हामीले दर्ता गरेर कारबाहीका लागि आजै अगाडी बढाइसकेका छौ, यो देशभरी चलिरहेको मिटरब्याज प्रकरणसँग जोडिएको छ, सरकारले ऐन बनाउदै छ, कानुनबमोजिम कारबाही हुन्छ।’
प्रमुख जिल्ला अधिकारी अर्यालले कञ्चनपुरमा यस्ता घटना ६/७ वटा रहेको बताए। ‘पहिले आएका मुद्दामा कारबाही अगाडी बढाएका छौ, दुवै पक्षलाई बोलाएर छलफल पनि गराउँछौ,’ उनले भने।
बेलौरी नगरपालिकाका उप–प्रमुख तथा न्यायीक समितिका संयोजक जोगराम चौधरीले पीडितको निवेदन लिनै मानेका थिएनन्। यसबारे प्रश्न गर्दा उनले भने, ‘उहाँहरुको उजुरी दर्ता हामीले नगरेको साँचो हो, हामीले हेर्न मिल्छ