धनगढीः अछामस्थित कर्णाली नदीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–४ की २२ वर्षीया कमला कुमारी बुढा र उनका ५ महिने शिशु कर्णाली नदीको किनारमा मृत अवस्थामा भेटिएका हुन्।
कमला १६ चैत्रदेखि परिवारको सम्पर्कमा थिइनन्। स्थानीय ज्ञानमन्दिर मेडिकलमा उपचारका लागि जान्छुँ भनेर छोरासहित घरबाट हिँडेकी उनी त्यसपछि बेपत्ता थिइन्।
हराएको ९ दिनपछि अछाम प्रहरीले आमाछोराको शव कर्णाली नदीको किनारमा फेला पारेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् धर्मबहादुर साउँद र मृतक कमलाबीच पारिवारिक खटपट रहेको खुलेको छ। मृत्युको एकिन कारण भने खुल्न सकेको छैन। श्रीमान् धर्मबहादुर प्रहरीको निगरानीमा रहेका छन्।
‘प्रारम्भिक रुपमा घटना प्रकृति हेर्दा पानीमा डुबेर मृत्यु भएको जस्तो देखिन्छ, अहिले हामी शव पोष्टमार्टमका लागि अस्पताल ल्याउँदैछौँ,’ प्रहरी निरीक्षक कैलाश बिष्टले भने, ‘परिवारसँग सोधपुछ र पोष्टमार्टम रिपोर्टले घटना बारे थप खुलाउला।’
शव भेटिएको खबर पाएपछि नजिकको स्थानीय प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अमर बहादुर खड्काको नेतृत्वमा ४ जना प्रहरी परिचालन भएका थिए।
शव भेटिएको त्रिवेणी भन्ने ठाउँ सो प्रहरी चौकीबाट ६ घण्टाको दुरीमा छ। त्यसपछि घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको प्रहरी टोली पनि घटनास्थलमा खटिएको थियो।
अहिले घटनास्थलको मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि प्रहरीले मंगलसेन ल्याइरहेको छ। भौगोलिक विकटता र सदरमुकामबाट घटनास्थल टाढा हुँदा सो टोलीसँग सम्पर्क हुन सकेको छैन।