दार्चुला-दार्चुलामा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका यी उमेर समूहका सबैलाई खोप लगाइने भएको हो।
यो उमेर समूहका बालालिका टाइफाइडबाट बढी प्रभावित भएकाले बालबालिकालाई लक्ष्य गरी नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो। दार्चुलामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ३७ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र राज भट्टले जानकारी दिनु भएको छ।
उनका अनुसार उक्त उमेर समूहका बालबालिकाको सङ्ख्या दार्चुलामा ३७ हजार रहेको अनुमान गरिएको छ। यो अभियान देशव्यापीरूपमा चैत २५ देखि वैशाख १८ गतेसम्म चल्ने पनि बताइएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले टाइफाइडविरुद्धको अभियान जिल्लामा कसरी सञ्चालन गर्ने भनेर कार्ययोजना निर्माण गर्नका लागि जिल्लास्तरी अभिमुखीकरण गोष्ठीको आयोजना गर्ने भएको छ।
गोष्ठीमा जिल्लास्थित सबै गाउँपालिकाका शिक्षा शाखा प्रमुख, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख र उपप्रमुख, सबै स्वास्थ्य कार्यालयका प्रमुखको उपस्थिति रहेने जनाएको छ यस्तै कार्यक्रममा स्वास्थ्यचौकी प्रमुख वडा स्वास्थ्यसंस्था प्रमुखलाई पनि गोष्ठीमा बोलाइएको छ। बुधबार भोली र विहिबार पर्सि दुई दिनसम्म चल्ने गोष्ठीमा छलफलका माध्यामबाट खोप केन्द्रको सङ्ख्या निर्धारण, खोप ढुवानी व्यवस्थापन, सञ्चालन गर्ने मिति, पालिका तथा वडामा सरोकारवालासँग अभिमुखीकरण गर्ने मिति तय भएको पनि स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर भट्टले जानकारी दिए।