काठमाण्डाै – एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट आजदेखि सुरु हुँदैछ । नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुँदैछन् ।
पहिलो खेलमा नेपालले अहिले साढे ९ बजे कीर्तिपुर मैदानमा मलेसियासँग खेल्दैछ । मलेसियासँगको खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको छ । टस जितेर मलेसियाले ब्याटिङ रोजेको छ । मलेसियासँगका पछिल्ला ५ वटा खेलमध्ये नेपाल सबैमा विजयी भएको छ ।
आज हुने अर्को खेलमा हङकङ र सिङ्गापुर मूलपानी मैदानमा खेल्दैछन् । प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ ।
नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ ।
एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।