एजेन्सी – उत्तर कोरियाले यसै साता परीक्षण गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र नयाँ नभई पुरानो शैलीको भएको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले गत बिहीबार ह्वासोङ १७ नामक ‘भीमकाय’ अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको थियो ।
‘ह्वासोङ १७ परीक्षण गरेको उत्तर कोरियाली दाबी झूठो भएको दक्षिण कोरिया र अमेरिकी जासुसी निकायले निष्कर्ष निकालेका छन् । यो वास्तवमा ह्वासोङ १५ थियो । त्यसैले हामी उत्तर कोरियाले झुक्यायो भनिरहेका छौं ।’ पूर्व सैनिक अधिकारी समेत रहेका दक्षिण कोरियाली सत्तारुढ डेमोक्र्याटिक पार्टीका नेता मिन होङ चुलले भने ।
ह्वासोङ १५ लाई उत्तर कोरियाले अन्तिमपटक सन् २०१७ मा परीक्षण गरेको थियो । यही क्षेप्यास्त्रको अघिल्लो साता पनि असफल परीक्षण भएको बताइएको छ ।
दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको बताउँदै यो क्षेप्यास्त्रले ६ हजार किलोमिटरको उचाईमा पुगी १ हजार किलोमिटर टाढा जापानी जलक्षेत्रमा खसेको जनाएको थियो ।
नयाँ वा पुराना जुनसुकै शैलीको क्षेप्यास्त्र भएपनि पछिल्लो परीक्षणबाट उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्रलाई अझ परिष्कृत बनाएको दक्षिण कोरियाली एवम् जापानी सैनिक विश्लेषकहरुलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन च्यानल एबीसीले जनाएको छ ।