काठमाडौँ: आज त्रिभुवन विमानस्थल खुल्नुअघि नियमित धावनमार्ग जाँच गर्ने क्रममा मरेको चरा भेटिएको छ। सोमबार राति फ्लाई दुबईको जहाजमा उक्त चरा ठोक्किएर आगो लागेको हुन सक्ने विमानस्थलका अधिकारीहरूले आशंका गरेका छन्।
धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको रहेको छ । तर कुन प्रजातिको चरा हो भन्ने एकिन नभइसकेको उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको इन्जिनमा आगोको लप्का देखिएको थियो।
आगोसगै आसपासका मान्छेके ठुलै आवाज समेत सुनेका थिए।
एफजेट–५७५ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको जानकारी दिएका थिए । उनीहरूले टावरका एटीसीलाई जहाज एउटा इन्जिनको भरमा उचाइमा चढिरहेको तर फोर्स ल्यान्ड गर्न काठमाडौं फर्कने बताएका थिए। तर पछि जहाज सुरक्षित भएकाले पाइलटले उडानलाई निरन्तरता दिने बताएका थिए।
नेपाली समय अनुसार राति दुई बजे उक्त जहाजले दुबईमा सफल अवतरण गरेको छ।
सोमबार राति नै फ्लाई दुबईले दुबईबाट जहाज चरासँग ठोक्किएको जनाएको थियो।