कैलाली: सुदूरपश्चिम प्रदेशलाई आवश्यक पाठ्यपुस्तकमध्ये करिब ८० प्रतिशत पाठ्यपुस्तक प्रदेशमा आइपुगेको छ।
अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक आएर सम्बन्धित जिल्लामा धमाधम ढुवानी भइरहेको धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ।
केन्द्रमार्फत कक्षा ६ देखि १२ कक्षासम्मको पुस्तक वितरण भइरहेको छ। १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक भने निजी प्रकाशनले ढुवानी गरिरहेका छन्।
नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुर्याउने सरकार र केन्द्रको नीति अनुरुप विभिन्न जिल्लाहरुमा पुस्तक पठाइरहेको केन्द्रका धनगढी प्रमुख ध्रुवराज पन्तले बताए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुलाई प्राथमिकतामा राखेर चैत २६ गतेबाट पुस्तक सम्बन्धित जिल्लामा पठाउने कार्य भइरहेको छ। दुर्गम जिल्लाहरु बाजुरा, दार्चुला, बझाङ र अछाममा सुरुमा पाठ्यपुस्तक पठाइएको छ। दार्चुला र बाजुराका लागि डेढरडेढ लाख थान पाठ्पुस्तक पठाइएको पन्तले बताए।
‘‘अछाम र बझाङका लागि भने अझै ढुवानी जारी रहेको छ’’, उनले भने,‘‘शनिबार बिदाको दिन पनि ट्रकमा पुस्तक लोड गरेर पठाएका छौं।’’ वैशाख ४ गतेबाट बैतडी हुँदै अन्य जिल्लामा पालैपालो पुस्तक ढुवानी गरिने जनाइएको छ। एक जिल्लामा पुस्तक ढुवानीका लागि दुई दिन छुट्टयाइएको छ। प्रदेशको सात पहाडी जिल्लामा पुस्तक ढुवानी सकिएपछिमात्रै कञ्चनपुर र कैलालीलाई पाठ्यपुस्तक दिइने जनाइएको छ। ‘