डोटी: डोटीका ६५ वडामध्ये ३३ वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ।
जिल्लाका ९ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ। ६ वडा रहेको पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए।
यस्तै जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका ४ वडामा सचिव छैनन्। ९ वडा रहेको नगरपालिकामा वडा नम्बर ५, ७, ८, ९ सचिवविहीन छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए।
११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वडामा सचिव छैनन्। वडामा सचिव नहुँदा एउटै व्यक्तिले २ वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले बताए। बडीकेदार गाउँपालिकामा वडा संख्याका आधारमा सचिव छैनन्। ५ वडा रहेको गाउँपालिकामा ३ वडा सचिवविहीन छन्।
उता ६ वडा रहेको जोरायल गाउँपालिकामा पनि २ वटा वडामा सचिव छैनन्। वडा नम्बर ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिए।
बोगटान फुड्सिल गाउँपालिकाका ६ वटा वडामा सचिव छैनन्। ७ वडा रहेको गाउँपालिकामा नम्बर ३ मा मात्र वडा सचिव रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताए।
७ वडा रहेको केआईसिंह गाउँपालिकामा पनि २ वडा सचिवविहीन छन्। वडा नम्बर १ र ७ मा सचिव नरहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिए। पूर्वीचौकी गाउँपालिकामा पनि आवश्यकता अनुसार वडासचिव छैनन्।
७ वडा रहेको आदर्श गाउँपालिकामा पनि ३ वटा वडा सचिवविहीन छन्।
पालिकामा कर्मचारी अभाव भए पनि पालिकामा रिक्त दरबन्दीअनुसारका कर्मचारी लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हीरालाल चौधरीले बताए।