काठमाडौं: नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा ११८ रनको लक्ष्य पाएको छ ।
वर्षाको कारण सोमबार प्रभावित भएको खेल आज यूएईले नेपाललाई झिनो लक्ष्य दिएको हो । वर्षाको कारण सोमबार २७.३ ओभरमा रोकिएको खेल आज यही अवस्थाबाट सुरू भएको हो । यूएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । यूएईका लागि ११औँ नम्बरमा ब्याटिङ गर्न आएको जुनाइद सिद्धिकीले १० रनमा आउट भए ।
नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए ।
यसअघि सोमबार नेपालका लागि ललितनारायण राजवंशीले लगातार विकेट लिएका थिए । उनी ह्याट्रिक विकेट नजिक थिए । आज उनले २७.४ ओभरमा विकेट लिन नसकेपछि ह्याट्रिक विकेट पूरा भएन । तर ललितले सिद्धिकीको विकेट लिएसँगै यूएई अलआउट भएको हो । सोमबार ललितले आसिफ खानलाई ४६, रामिज शाहजादलाई एक र जाहोर खानलाई शून्यमा आउट गराएका थिए ।
त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट लिए । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । सन्दीपले आयन अफ्जल खानलाई पाँच र रोहन मुस्तफालाई दुई रनमा आउट गराएका थिए ।
त्यस्तै, सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराए । गुल्सन झाले बासिल हामिदलाई १० रनमा आउट गराए । नेपालले विजयी लक्ष्य पछ्याउँदै केही बेरमा ब्याटिङ थाल्नेछ ।
यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।