धनगढी: सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले प्रदेशको प्रहरीबारे बाहिर नकारात्मक धारणा रहेको बताएका छन्। आज (बिहीवार) धनगढीमा कैलाली उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी बोहराले यस्तो बताएका हुन्।
उनले भने, ‘सुदूरपश्चिमको प्रहरी अनुशासित छैन, जाँड धेरै खान्छ भन्ने बाहिर हल्ला छ। अहिले पनि बाहिरतिर सुदूरपश्चिम राम्रो छ जानुपर्छ भन्ने छ। तर, हामीले आफ्नो आचरण सुधार गर्नुपर्ने देखिएको छ। त्यो हामीले नै गर्नुपर्छ, त्यसमा म लागेको छु।’
यस्तै डिआइजी बोहराले सुदूरपश्चिममा आफ्नो कार्यकालमा गुण्डागर्दी र चोरी, तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सुदूरपश्चिम प्रहरीले लागुऔषध, चोरी तस्करी, गुण्डागर्दीको नियन्त्रण र फरार अभियुक्त पक्राउ गर्ने कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने उनको दाबी छ। शान्ति, सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका जिल्ला कैलाली र कञ्चनपुरको निरीक्षण गरिसकिएको बताउदै विशेष खालको सुरक्षा योजना बनाएर कार्यान्वयनमा लैजाने समेत उनले बताए।
उनले आफू सुदूरपश्चिमकै बासिन्दा भएका कारण प्रदेशबासीलाई शान्ति, सुुरक्षाको प्रत्याभूती हुनेगरी काम गर्ने पनि बताएका छन्। कार्य सम्पादनका क्रममा प्रहरीलाई सबै पक्षबाट सहयोग हुने विश्वास समेत उनको थियो।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले डीआईजी बोहरालाई माला लगाएर स्वागत गरेका थिए भने व्यवसायीहरुले शान्ति, सुरक्षाको प्रत्याभूती हुनेगरी काम गर्न समेत आग्रह गरेका छन्। उनी सुदूरपश्चिमको अछामका स्थायी बासिन्दा हुन्।