धनगढीः चीनबाट ल्याएको स्याउ भारततर्फ भइरहेको तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक कारबाहीमा परेका छन्।
झापाको केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १ सय १५ कार्टुन फूजी स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरा बारीका डिएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक कारबाहीमा परेका हुन्।
उनीहरूलाई तस्करीमा संलग्न रहेको आरोपमा कारबाही स्वरूप सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय कोशी प्रदेश सुनसरीमा तानिएका हुन्।
वैशाख १७ गते झापाको कच कवल स्थित लोदा बरी चोकमा मे १ ज २८०४ नम्बरको टाटा गाडीमा एक सय १५ कार्टुन स्याउ बरामद भएको थियो। सो स्याउ लोदा बारी नाका हुँदै भारत निकासा गर्न तयारी थियो।
स्याउ पक्राउ बरामद भएपछि सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो। छानबिनका क्रममा शर्मा र धानुकको समेत संलग्नता देखिएको समितिले जनाएको छ।
छानबिनका क्रममा स्याउ तस्करीमा डिएसपी र इन्स्पेक्टर संलग्न देखिएकालागि अनुसन्धानका लागि तानिएको सशस्त्र प्रहरीका डिआइजी अञ्जनी कुमार पोख्रेलले बताए।
शर्माको ठाउँमा डिएसपी प्रभात गौतम र केचनामा इन्स्पेक्टर जितेन्द्रबहादुर बस्नेतलाई अस्थायी रूपमा जिम्मेवारी दिएर पठाइएको छ। छानबिन समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै डिआइजी पोखरेलले प्रारम्भिक छानबिनको क्रममा डिएसपी र इन्स्पेक्टर घटनामा संलग्न रहेको देखिएकोले प्रतिवेदन आएपछि दोषी ठहरेमा उनीहरूमाथि थप विभागीय कारबाही हुने उनले बताए। उनीहरूलाई फिर्ता नहुने गरी बाहिनी तानिएको उनले जानकारी दिए।
कच कवल नाकाबाट स्याउ तस्करी भइरहेको सूचना पाए लगत्तै सशस्त्रले वैशाख १७ गते मे १ ज २८०४ नम्बरको योद्धा पिक अप गाडीमा लोड गरिएको १ सय १५ कार्टुन चाइनिज फुजी स्याउ बरामद गरेको थियो।
त्यसपछि राजश्वका अनुसन्धान अधिकृत विनोद पोखरेलको टोलीले पूर्वी लोदाबारीस्थित जयनारायण साहको गोदाममा छापा मारेर थप ४ सय ५६ कार्टुन चाइनिज स्याउ बरामद गरेको थियो। बरामद गरिएको जम्मा ५ सय ७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्वमा बुझाइसकिएको छ।