-आभूषण तिम्सिना
जब आम मानिस घर वा जग्गाको हालसाबिक नभएको कारणले घरमा खानेपानीको पाइप जोड्न नसकिरहेको अवस्थाको विकास हुन्छ। आम मानिस आफ्नो मोटरसाइकलमा चढेर काममा जान हतारिएर हिँडेको बेला थुप्रै स्थानमा बिच सडकमा ट्राफिक प्रहरी लाइसेन्द खोजेर बसेको थुप्रै स्थानमा देख्छ तर त्यही आम मानिसको रुपमा तपाईँले ट्राफिक प्रहरीले महंगा गाडी चढेर हिँड्ने चिल्ला र महंगा गाडिहरुलाई आजसम्म कतिपटक रोकेर चेकजाँच गरेको भेट्नुभएको छ ?
के तपाईँले चढेको मोटरसाइकल र कार किन्दा तपाईँले तिरेको मुल्य बास्तवमा कति हो भनेर थाहा पाउनुभएको छ? के तपाईँका सन्तान पढ्ने सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्केको कारण तपाईले अपार्दर्शी ढंगले शुल्क लिने निजी विद्यालयहरुमा सन्तान पढाउनुभएको छ? के तपाईँ बिरामी हुँदा सरकारी अस्पतालमा जान निर्धक्क सक्नुहुन्छ? सरकारी अस्पतालहरुका बेथिति र अस्तब्यस्तताको कारण तपाईँले महंगा अस्पतालमा गएर पानी सरह पैसा लुटाउनुपरेको छ? के तपाईँले सवारी साधनको कर बुझाउँदा या सवारी साधन किन्दा सडक मर्मत कर तिरेर पनि तपाईले प्रयोग गर्ने बाटो अस्तव्यस्त पाउनुहुन्छ?
के तपाईँलाई थाहा छ यो देशमा २०४६ सालदेखि सडक पिच गर्ने नाममा प्रत्येक वर्ष कति पैसा भ्रष्ट सरकारी अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता, दलाल, ठग, ठेकेदारहरुले कुम्ल्याएका छन् (ठेकेदारहरुबीच चर्चित पिसी) ?
के तपाईको घर छेउको महंगो जमीन छेउमा महंगो मुल्य तिरेर कुनै काम नगर्ने, गुण्डागर्दी गर्ने, तस्करी गर्ने, नेताको पैसा चलाउने, मानिसले महंगो महल ठड्याएको छ?
के तपाईँ आफ्नो कामको सिलसिलामा कुनै सरकारी कार्यालय (मालपोत, नापी, कर, राजस्व, भन्सार, जिल्ला प्रशासन कार्यालय, प्रहरी आदि) मा गएको बेला तपाईको हुने काम नगरिकन झुलाएर कुनै दलाल या दले नेताको साथ लागेर गई दाम बुझाएर आफ्नो काम गराउनु परेको छ? के तपाईँले बनाएको मन्दिरभित्र तपाईँको जातको कारण मन्दिर प्रवेश गर्नबाट बञ्चित हुनुभएको छ?
के तपाईँले खनेको इनारको पानी खानबाट तपाई बञ्चित हुनुपरेको छ? के तपाईले सिलाएको लुगा लगाउने साहुले तपाईलाई घरको तुलसी मोठ छुन नदिएको छ? के तपाईले देख्दा देख्दै हिजो सडकमा हिड्ने कुनै उल्लेखनीय काम नगर्ने सामान्य मानिस करोडौंको मालिक बनेको छ? के तपाईले देख्दा देख्दै ३०सौं बर्ष सरकारि जागिर खाँदा केहि नगरी अवकाश गएको मानिस चाकरी, चाप्लुसी, नातावाद, कृपावाद, झोले भएकै भरमा राज्यका संवैधानिक नियुक्ति पाएर तपाईको अगाडि फुर्ती लगाउँछ?
के तपाईको परिवारसँग सम्बन्धित कोहि व्यक्ति कुनै फौजदारी अपराधको शिकार भएको छ र त्यसको मुद्दा अहिलेसम्म अनुसन्धान नै नभएको ५ वर्षभन्दा बढी नाघेको छ र अन्यायी तपाईकै आँखा अगाडि तुजुक देखाउँदै हिँड्छ?
के तपाईको जानकारीमा रहेको कुनै महिला करणी जस्तो जघन्य अपराधको शिकार भएर पनि अपराधी पक्राउ गर्न प्रहरी लागेको जस्तो लाग्दैन ? के तपाई कोहि नजिकको मानिसबाट ठगिनुभएको छ र ठग्ने मानिसले तपाईलाई दिएको चेकमा मुद्दा दर्ता गर्न प्रहरी नमानेको अवस्था छ र तपाईबाट ठगी गरेको रकमलाई उपयोग गरेर तपाईकै आँखाले देख्नेगरी त्यो ठग चाहिँ सम्भ्रान्त जीवन जिइरहेको छ? के तपाईले स्कुल पढ्दा स्कुलमा पढाउने शिक्षकले तपाईलाई पढाएको कुरा बुझाउन नसकेर तपाईलाई ट्यूसन पढ्न बाध्य बनाएको परिस्थिति भोग्नुभएको छ ?
के तपाईँ आफ्नो घर चलाउन र साहुको ऋण तिर्न श्रीमतीका गहना बेचेर या एक मेलो बारी बन्धकी राखेर वैदेशिक रोजगारीमा गएर फर्किँदा तपाईले ल्याएको एउटा मोबाइल या एउटा टेलीभिजन भन्सार कार्यालयले भन्सार नतिरिकन विमानस्थलबाट निस्किन नदिएको परिस्थिति भोग्नुभएको छ? के तपाई आफू योग्य हुँदा-हुँदै योग्यताका कसीहरुलाई पाखा लगाएर तपाईको मानमर्दन गरिएको परिस्थिति भोग्नुभएको छ ?
के तपाईको परिवारका सबै सदस्यहरुलाई मलाई अन्याय पर्यो भने मैले बिना कुनै खर्च न्याय पाउँछु र त्यसको लागि मेरो सम्मानित अदालत छ भन्ने विश्वास बलियो छ? के तपाईलाई मुलकभीत्र बिस्कुन लागेका समस्याहरुको जड यो देशको राजनीति होइन भन्ने विश्वास छ? के तपाईलाई हरेक आवधिक निर्वाचन समयमा मतदान गर्ने बेला राजनितिक दलहरु ठिक छन भन्ने आदरार्थी भावना आउँछ ?
के तपाईको घरको कसैले लिएको ऋण मिटरब्याज बनेर आधुनिक खुर्माने बुढाहरुको शिकार बनेर तपाईको घरजग्गा निलेको छ? के तपाईलाई मिटर ब्याजको चक्रव्युहमा फसाएर कोहि तारे होटलमा यो देशका ठुला नेता र कर्मचारीहरुसँग भोज खाने गरेको यथार्थ तपाईलाई थाहा छ ?
के तपाईँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्तहरु नै नैतिक चरित्र नभएको भनेर र भ्रष्टाचारमा संलग्न भएकोमा देशको न्यायालयले दण्डित गरेको सत्यता जानकारी छ? के तपाईँले तिरेको करले ३०सौं वर्ष जागिर खाएर अकुत कमाएकाहरु फेरि चाकरी गरेर विभिन्न नियुक्ति पाएको व्यक्ति एकदमै योग्य हो भन्ने तपाईलाई विश्वास छ ?
देशका दुरदराजमा पर्ने विकट भूगोलमा रहेका नागरिकहरुको कुरा छौडौं; काठमाडौं, पोखरा, विराटनगर जस्ता शहरमा बस्ने सचेत नागरिकहरुले प्रहरी कार्यालयमा जानु अगाडि कोहि चिनेको मानिस खोज्ने गर्नुभएको छ या छैन? के आज देश आर्थिक मन्दीमा परेको छ भन्ने जानकार नेपाली नागरिकहरुलाई तस्करी, हुण्डी, मिटरब्याजी, अवैध जुवा खेलाउने, भ्रष्ट राजनितिज्ञ र कर्मचारीहरुको भ्रष्टाचार आर्जित अकुत सम्पत्ति जुन बैंकिङ कारोवारमा अटाएका छैनन कतै गाडिएको अबस्थामा, कतै बन्द कोठाभित्र लुकाइएको अबस्थामा, कतै गोदाममा लुकाइएको अवस्थामा लुकाइएका नोटका वोराहरुले गर्दा यो परिस्थिति आएको हो भन्ने जानकारी छैन र?
के गरिब नेपालीको छोरो या छोरीले विदेशी भूमिमा कठिन परिश्रम गरेर आफूले पठाएको रेमिट्यान्स मार्फत चलेको यो मुलुकमा छाडा राजनीति र त्यसको आडमा मौलाएको भ्रष्ट कर्मचारीतन्त्रले यो मुलुक दिनानुदिन जर्जर बन्दै गएको कुराको जानकार छैनन र?
हाम्रो सर्वोच्च अदालत नेतृत्वविहीन बन्नुपरेको कारणको रुपमा संविधानले देखाएको बाटोलाई छलेर अध्यादेश मार्फत नियुक्त भएका मुठ्ठिभर निकायका शक्तिपुजकहरुको निँदहराम हुनु होइन र? यी त केही उदाहरण मात्र हुन्। यस्ता कैयन धेरै घटनाहरु छन्।
सबैलाई जानकारी छ कि यहाँ अन्यायको बीज अंकुरित मात्रै होइन अन्यायको त्यो बीज विष वृक्षको रुपमा झांगिइसकेको छ। झांगिन पनि यति झांगिइसकेको छ कि यसले न्यायको मन्दिरलाई समेत यसको विषाक्त छायाको शिकार बनाउने दुश्प्रयास गरिसकेको छ।
हामी यति निराशावादी भइसकेका छौं कि हामी नेपालीको आस्थाको केन्द्र, न्यायको मन्दिरलाई यो अन्यायको विष वृक्षले आफ्नो ग्रहणले निल्न लागेको बेलामा हामी सबै मिलेर त्यो विष वृक्षलाई समुल उखाल्नुपर्ने कुरामा सचेत छैनौं किनकी हामी अन्यायको भुवरीमा यति परिसकेका छौं कि हामीलाई न्याय के हो? अन्याय बिनाको पनि कुनै समाज र संसार हुन सक्ला र भन्ने विश्वास छैन।
अन्यायको विष वृक्षलाई राजनीतिले, राजनीतिको आडमा मौलाएको विशाक्त र भ्रष्ट कर्मचारीतन्त्रले; दलाल, माफिया, तस्कर र सफेदपोश अपराधिहरुले, त्यसपछि बिचौलियाहरुले मलजल गर्दै सामान्य किसान परिवारलाई समेत गाजिसकेको अवस्था छ।
कर्मबिरहरुले आत्महत्या गर्नुपर्छ, अपमानित हुनुपर्छ, भ्रष्टहरु पुरस्कृत हुन्छन अहिलेको प्रणालीमा। किसानले पाउने अनुदान व्यापारी अनि राजनीति गर्नेले कुम्ल्याउछन यहाँ। किसानले दु:ख गरेर उब्जाएको तरकारी र फलफूल बाटोमा मिल्काउनुपर्छ, किसानले उत्पादन गरेको दुध बाटोमा पोख्नुपर्छ यहाँ, पसिनाको भरमा दुइ छाक खाने मजदुर वर्गले बाँच्न पुग्ने ज्याला पाउँदैन यहाँ। योग्यताको मापन हुन छाडेको धेरै भइसकेको छ।
पढेर, वुद्धि बेचेर केहि गर्छु भन्नेहरु बेलायत, अमेरिका अष्ट्रेलिया भासिँएका छन्, सीप र श्रमको उचित मुल्य लिएर जिवन चलाउँछु भन्नेहरु कोरिया, जापान, इजरायल, मलेसिया, खाडि मुलुक भासिएका छन्, सिप नभएका तर पाखूरा र तिघ्रा दह्रा हुनेहरु कालापानीमा गएर पहाड फोरिरहेका छन्, अर्काको युद्ध लडेर भए पनि परिवारलाई मिठो खुवाउँछु भन्नेहरु बेलायती, भारतीय सेना, सिंगापुर, अबुधावी प्रहरी, अफगानिस्तान र इराकमा गएर लडिरहेका छन्, अनि केहि गर्न नसक्नेहरु राजननीतिमा लागेका छन्, पुरानो इतिहास भजाउँदैछन्।
हो, यहि हो अन्यायको दुश्चक्र। यो बिस्तारै बिस्तारै हुर्किन्छ। स्वार्थ समुहको दबाबमा पहिले राजनीति बिटुलिन्छ, राजनीति बिटुलिना साथ व्यवस्थापिकामा दलाल, तस्कर, अपराधी, गुण्डा, व्यापारी, लोभि लालचीहरु हावी हुन्छन्, कार्यपालिकामा राजनीति भित्र हुर्किएका भिमकाय महिसासुरहरु हावी हुन्छन, तर पनि ती महिसासुरहरुलाई न्यायपालिकाको त्रास हुन्छ।
तसर्थ व्यवस्थापिका भित्रका कमजोरीहरुलाई प्रयोग गरेर र निकम्मा कर्मचारीतन्त्रलाई प्रयोग गरेर छिद्रहरुले भरिएको कानून बनाइन्छ। बिटुलिएको राजनितिले आफूसँगै हिड्ने कर्मचारी तन्त्रका निकम्माहरुलाई योग्य बनाउँदै माथि उचाल्छ अनि निकम्मा कर्मचारितन्त्रबाट कानून बमोजिम भनेर गराइएका निर्णयहरुका आधारमा न्यायपालिकालाई निर्णय गर्न बाध्य बनाइन्छ।
न्यायालयलाई कमजोर बनाइने कार्यको शुभारम्भसहित संवैधानिक निकायहरुलाई कठपुतली बनाउने उद्धेश्यले स्वार्थी राजनीतिक समुह समक्ष आत्मसमर्पण गरेका निकम्माहरुलाई संवैधानिक नियुक्तिको जामा पहिर्याइन्छ।
कर्मचारितन्त्र निकम्मा, पदलोलुप, भ्रष्ट, नैतिकताबिहीन भए पश्चात बिस्तारै जनतामा ब्यबस्थाप्रति बितृष्णा पैदा हुन थाल्छ। त्यहि क्रममा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक अंगहरुलाई कमजोर बनाइदै गर्दा राज्यको चौथो अंगलाई समेत बिस्तारै प्रभावमा पार्दै गएर गलत सूचना प्रवाहको माध्यम बनाइन्छ। जसले गर्दा कानूनी राज्य र न्यायिक सर्बोच्चतामा ह्रास आउन गई नागरिक आत्मबिश्वासमा समेत ह्रास आउँछ जसले बिद्रोहको वातावरण निर्माण गर्न उत्प्रेरकको भुमिका निर्वाह गर्दछ।
तेस्रो चरणको सुरुवात भनेको बिद्रोहको वातावरण निर्माणको परिस्थिति निर्माण हुनु हो। विद्रोहले आमुल परिवर्तन ल्याउन सक्छ या सम्झौतामा विद्रोह अन्त्य हुन्छ। आमुल परिवर्तनबाट विद्रोहको अन्त्य भयो भने समाजमा स्थिरता उत्पन्न हुन्छ र समाज समृद्धितर्फ अगाडि बढ्छ नत्र सम्झौतामा विद्रोहलाई बाँधियो भने फेरि अर्को अन्यायको दुश्चक्रको निर्माणको तयारी सुरु हुन्छ।
लेखक तिम्सिना नेपाल प्रहरीका पूर्व एसपी हुन्, उनले हालै मात्र आफ्नो पदबाट राजीनामा दिएका थिए।