दार्चुल- व्याँस गाउँपालिका–२ को हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलक घाइते भएको आशंका गरिएको छ।
व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीका अनुसार दुम्लिङबाट एक दिनको पैदल यात्रामा पुगिने उक्त स्थानमा हिजो साँझ चट्याङ लागेर तीन जना यार्सा संकलक घाइते भएको खबर आएको हो।
दुदिवन नजिकको हुम्दुङतीमा उक्त घटना भएको खबरपछि जिल्ला प्रहरी कार्यालयले आज बिहान प्रहरीको टोली उक्त स्थानका लागि पठाएको छ। घटनामा दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोहीँ गाउँपालिका–१ पिपलचौरी बास्पालीका ३८ वर्षीय आन सिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमती घाइते भएको बताइएको छ। राति ११ बजे सुतिरहेको बेला चट्याङ परेको थियो।
‘तीन जना घाइते भएको खबर आएको छ, तर उक्त स्थानमा सञ्चार सम्पर्क हुन नसक्दा पुष्टि हुन सकेको छैन,’ जिल्ला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले भने, ‘त्यतातर्फ प्रहरी टोली खटाएका छौँ।’
गत १९ गते व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुममा हिमपहिरो जाँदा ५ जना यार्सा संकलकको ज्यान गएको थियो। ७ जनाले भागेर ज्यान जोगाएका थिए।