धनगढी: नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको विवाद अझै कायम छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु नै दुई कित्तामा विभाजित भएपछि विवाद लम्बिएको हो।
पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश सभा सदस्य खगराज भट्ट दल नेता भएकै बेला अर्का सांसद मानबहादुर धामीले बहुमत प्राप्त गर्दै आफू दल नेता बनेका थिए।
सुदूरपश्चिम प्रदेश सभामा सभामुख बाहेक माओवादीका १० सांसद छन्। त्यसमा उनीहरू बराबर विभाजित छन्। विवादको क्रममा पटक–पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खगराजलाई दल नेतामा पुर्नस्थापित गर्न लिखित र मौखिक आदेश दिएका थिए। तर धामी पक्षले बहुमतीय प्रक्रियाबाट आए मान्ने तर सर्लक्कै छाडेर खगराजलाई दल नेता मान्न नसकिने बताउँदै आएका छन्।
सुदूरपश्चिम प्रदेशसभाका सांसद वर्षमान पुन,नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माका नाममा विभाजित छन्।
आइतबारमात्रै खगराज भट्ट, रमेश धामी, झपट साउँद र शिवसिंह ओलीले अध्यक्ष प्रचण्डसँग भेट गरेका छन्। उनीहरु सबै भट्टलाई दल नेता बनाउनुपर्छ भन्ने लाइनका सांसद हुन्। १ घण्टा लामो भेटमा प्रचण्डले खगराजलाई नै दल नेता बनाउन चाहेको र अर्को बैठक सबै सांसदलाई बोलाएर जेठ १ गते डडेल्धुरामा गर्ने आश्वासन दिएका छन्।
यस अगाडि प्रचण्डले २ पटकसम्म पठाएको सर्कुलर कार्यान्वयन नभएपछि उनी रुष्ट छन्। प्रचण्डले आगामी १ गते आफू डडेल्धुरा पुग्ने र त्यही संसदीय दलको बैठक आह्वान गरेर आफ्नो निर्देशन कार्यान्वय गराउने बताएको बराइन्छ।
२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो। १६ महिनादेखि संसदीय दलको विवाद कायम छ।
संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए।
धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५र५ जना पुगेका छन्। अहिले भट्टको पक्षमा ओलीसहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन्।