डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका लक्ष्मण सिँहले आज पदभार ग्रहण गरेका छन्। बागबजारबाट स्थानीयलाई भेट्दै अस्पताल पुगेका उनलाई कर्मचारीले भव्य स्वागत गरेका थिए। उनले पदभार गर्नुअघि बिरामीलाई फलफूल वितरण समेत गरेका थिए।
स्वागतपछि पदभार ग्रहण कार्यक्रममा बोल्दै सिँहले आफ्ना पुराना कार्यकाल जस्तै यसपालि पनि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।
उनले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी तथा आवश्यक सम्पूर्ण स्वास्थ मेसिन ल्याएर सेवा प्रवाह गर्ने प्रतिबद्धता गरेका छन्।
उनले तेस्रो कार्यकालमा डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने प्रक्रियालाई पूर्णता दिने विश्वास दिलाए। ‘ अभावमा गुज्रिरहेको अस्पताललाई सर्वसुलभ बनाउन कुनै कसर बाँकी राख्दैन। म आवश्यक सबै चिकित्सक तथा स्वास्थ सामग्री ल्याउन प्रयत्न गर्छु, त्यो गर्न नसके राजीनामा गर्नेछु’ उनले भने।
अध्यक्ष सिँहले अस्पतालमा अनुशासन कायम राख्दै बिरामीलाई मुस्कानसहितको सेवा दिलाउन समेत कुनै कसर बाँकी नराख्ने बताएका छन्।
उनले भने, ‘अनुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता छ। कर्मचारीलाई आफ्नो जिम्मेवारी बोध गराउँदै इमान्दारीका साथ काम गर्ने वातावरण बनाउँछु। अब कर्मचारीले आफ्नो ड्युटी समयमा अर्को फाँटमा जाने काम नगर्नुहोला। मैले ड्युटी समयमा कसैको हातमा मोबाइल देख्न नपरोस।’ उनले कर्मचारीलाई आफ्नो ड्युटी इमान्दारीताका साथ निभाउन निर्देशन समेत दिएका छन्।
यस्तै उनले अस्पताललाई सफा राख्न समेत कर्मचारीलाई निर्देशन दिएका छन्। ‘कतै फोहोर देख्न नपरोस’ उनले निर्देशन दिँदै भने, ‘औषधी पसल तोकेर औषधी किन्न बाहिर पठाउने परिपाटीको अन्त्य गर्नुस।’
उनले अस्पतालबाट प्रवाह हुने विभिन्न सेवाको शुल्क चर्को भएको भन्ने गुनासो सुनेकाले त्यसमा सहुलियत गर्ने समेत प्रतिबद्धता जनाएका छन्।
डडेल्धुरा अस्पताल विकास समितिमा दुई कार्यकाल अध्यक्ष भइसकेका सिँहको यो तेस्रो कार्यकाल हो। आफ्ना अगाडिका कार्यकालमा अस्पतालको मुहार फेर्ने काम गरेकाले सिँहलाई पुनः ल्याउन विभिन्न समयमा आवाज उठिरहन्थ्यो।
लक्ष्मण सिँहसँगै अस्पताल विकास समितिको सदस्यमा तेज साउदले पनि आफ्नो पदभार ग्रहण गरेका छन्।
डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल हो।