–आशिष मल्ल
डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष नियुक्तिको कुराले पुरै जिल्ला चकित परेको छ। एकपछि अर्को मनोनीतले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।
गत बैशाख १७ गते प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री स्तरको निर्णयबाट लक्ष्मण सिँहलाई डडेल्धुरा अस्पताल डडेल्धुराको अध्यक्षमा मनोनीत गरेको भन्दै सुरुमा मन्त्रालयबाट पत्र आएको थियो।
उक्त पत्रअनुसार सिँहलाई बैशाख २३ गतेबाट लागू हुनेगरि अध्यक्षमा मनोनीत गरिएको थियो। उनीसँगै तेज साउदलाई अस्पताल विकास समितिको सदस्यमा मनोनीत गरिएको थियो।
उक्त पत्र अस्पताल पुगेपछि सिँहले हिजो जेठ ३ गते मात्रै पदभार ग्रहण गरेका थिए। उनलाई अस्पताल कर्मचारी तथा जिल्लावासीले भव्य स्वागत समेत गरेका थिए।
सोही पदभार ग्रहण कार्यक्रममा बोल्दै सिँहले अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा आवश्यक उपकरण ल्याउने प्रतिबद्धता जाहेर गरेका थिए। तर, आफ्नो तेस्रो कार्यकालका लागि उक्त बाचा गरेका लक्ष्मण सिँहको पद पदभार ग्रहण गरेको केही घण्टामै गएको छ।
हिजो साँझ नै स्वास्थ्य मन्त्रालयबाट उनको पद बदर गरिएको भन्दै अर्को पत्र अस्पताल पुगेको छ। त्यति मात्रै हैन उनको ठाउँमा अस्पतालका निवर्तमान अध्यक्ष करुणाकर ओझालाई स्थानान्तरण गरिएको पत्रमा उल्लेख छ।
हिजो नै स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरको निर्णयले अध्यक्षमा उनीसहित सदस्यमा देवकी भट्ट र जनक मल्ललाई मनोनीत गरेको भनेर पत्र आएको अस्पतालका मेसु चेतराज भट्टले जानकारी दिए। उनका अनुसार एक साता अगाडि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मणबहादुर सिँहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताललाई प्राप्त भइसकेको छ।
तेस्रो कार्यकालका लागि मनोनीत भएका सिँह नेकपा माओवादीमा केन्द्रमा आवद्ध छन् भने दोस्रो कार्यकालका लागि मनोनीत भएका ओझा केही समयअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
यसरी अस्पताल जस्तो संवेदनशील संस्थाको अध्यक्ष पदका लागि राजनीतिकरण भएको भन्दै अहिले सामाजिक सञ्जालमा बिरोध भइरहेको छ। पदका लागि नभएर डडेल्धुरा अस्पतालको सेवा सुधारमा दलहरुको ध्यान जानुपर्ने जिल्लावासीले माग गरिरहेका छन्।
2 Comments
जसले दाइ भाउजू को चाप्लुसी गर्न सक्यो उसैले पद पायो होइन र ! अचम्म्को कुरो त के भने पद पाउनकै लागि पार्टि परिवर्तन गरिरहने परिपाटी कहिले सम्म देख्नुपर्ने हो अझै । अस्पताल सुधार को मतलब कस्लाइ पो छ र, आफुले पद पाए पुग्यो! अप्ना काम बन्ता भाडमे जाए जनता धन्न मेरो देश नेपाल🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦
स्वास्थ्य क्षेत्रमा राजनीति गर्नु खासै उचित होइन ।सकिन्छ भने स्थानीय बासिन्दाको आन्तरिक मनोभावना लाई मध्य नजर गरि अस्पतालको दिगो विकास र चिकित्सकको स्थानान्तरण गरे राम्रो होला ।