काठमाडौँ – प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई आइतबार टुङ्ग्याउने भएको छ ।
नेपाली नागरिकलाई राज्यसंयन्त्रकै मिलेमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको सङ्गठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार मात्र टुङ्ग्याउने भएको हो।
बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो। १६ जना पक्राउ परेकोमा दुईजनाको बयान हुन सकेको छैन। बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालय अन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको शुक्रबार बयान नै नभएको जनाइएको छ ।
शनिबार बयान सकेर प्रहरीले आइतबार मात्र अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। सरकारी वकिलले शुक्रवारभित्रै बुझाउन भनेको थियो। सङ्गठित अपराधको ६० दिने हदम्यादअनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत उच्च पदस्थलाई समेत प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ।