धनगढी: बझाङको लुयाटामा जन्मिएका पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्। शनिबार मात्रै उनले पदभार ग्रहण गरेका छन्। सिंह बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित भएका थिए।
२०१५ साल माघ १७ गते जन्मिएका उनले बझाङको पाण्डु प्राथमिक विद्यालय र घचाया प्राथमिक विद्यालय हुँदै सत्यवादी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका थिए।
बीएल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पुरा गरेका सिंहले कानुनकै विद्यार्थी भएकाले प्रदेशको हित हुने नीति निर्माणमा जोड दिने बताएका छन्।
उनको राजनीतिक यात्र २०३१ सालमा एसएलसी सकेर भएको थियो। त्योबेला देखिनै उनी नेविसंघमा आवद्ध भएका थिए। नेपालगन्ज हुँदा २०३५ सालतिर उनी महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए।
त्यसैबेला नेविसंघको जिल्ला कार्यसमिति सचिव बनेका सिंह २०४९ सालमा तत्कालीन लुयाटा गाउँविकास समितिको अध्यक्ष समेत भएका थिए।
२०५४ भन्दा अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका मन्त्री सिंह २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भएका थिए। तर त्यतिबेला उनी हारे।
त्यसपछि नेपाली कांग्रेस बझाङको सभापतिको तीन कार्यकाल खाएका उनी पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै अहिले महासमिति सदस्य रहेका छन्। सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्य पदको चुनाव लडेका थिए। उनी त्यो चुनाव पनि हारेका थिए।
२०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका सिंहले सरकारमा सहभागी भएपछि जिल्लावासीलाई धन्यवाद दिएका छन्। उनले प्रदेशको हित हुनेगरि काम गर्ने प्रतिबद्धता गरेका छन्।