डडेल्धुरा: सामान्यतया तपाईंले फोटोकपी गरेको कति रुपैयाँ तिर्नुहुन्छ ? बढीमा ५ रुपैयाँ हैन त ! तर, अचम्म लाग्दो कुरा डडेल्धुरामा एक व्यापारीले एकप्रति फोटोकपी गरेको ५ को दोब्बर १० हैन २० रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ।
उसै त पीडित, त्यसैमाथि यस्तो असुलीले हैरान बनेका छन् डडेल्धुराको शिवशिखर सहकारीका सदस्यहरु। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखरविरुद्ध जाहेरी दिन भनेपछि ती व्यापारीका त ‘दिन आए’ जस्तै भएको छ।
अस्ति मात्रै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन आग्रह गरेको थियो। सो सहकारीको जिल्ला शाखाले बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए उजुरी दिन आग्रह गरेको हो।
जाहेरी दरखास्त पेश गर्न आफ्नो नागरिकता, पासबुक लगायतका प्रमाणसहित जिल्ला प्रहरीमा आउन भनेपछि डडेल्धुराको अमरगढी नगरपालिकाका टेक माली आज(आइतबार) प्रहरी कार्यालय अगाडी उभिएका थिए।
आफ्नो ६० हजार लिन बाँकी रहेको भन्दै जाहेरी दिन उनी आएका थिए। त्यसका लागि उनले पास बुक र नागरिकता फोटोकपी गर्नुपर्ने भयो। उनी प्रहरी कार्यालयको छेउमै रहेको बैजनाथ फोटोकपी सेन्टरमा गए। पासबुकका ३ पाना र एक नागरिकता गरि ४ प्रति फोटोकपी गरिएपछि उनले ८० रुपैयाँ बुझाए।
त्यति मात्रै हैन प्रहरी कार्यालयमा दिने निवेदनको ढाँचा पनि सोही पसलमा मात्रै पाइने रहेछ। त्यो एक प्रति निवेदनको उनले थप २० रुपैयाँ बुझाए। यसरी उनले आफू पीडित भएको निवेदन दिन १ सय रुपैयाँ खर्च गरे।
आज नै सहकारीमा ५ लाख जम्मा गरेकी पार्वती गुरुङ पनि निवेदन दिन प्रहरी कार्यालय पुगेकी थिइन्। उनले पनि बाध्य भएर कार्यालय छेउमै रहेको एक मात्र फोटोकपी पसलबाट सेवा लिइन्।
गुरुङले पनि एकप्रति फोटोकपी गरेको २० रुपैयाँ का दरले रकम तिरिन्। थप २० रुपैयाँ तिरेर निवेदन किनिसकेपछि उनले जाहेरी दिएकी थिइन्।
यसरी प्रहरी कार्यलय र केही मिटर दुरीमा रहेको जिल्ला प्रशासन कार्यालय नजिकै ‘लुट धन्दा’ चलिरहेको छ। निवेदक पनि के गरुन् ‘बिचरा’ आफ्नो गुमेको रकम फिर्ता आउने आसमा फेरि एकपटक लुटिने गर्छन्।
शिवशिखर सहकारी डडेल्धुरामा ६ हजार सदस्य रहेका छन्। त्यसको १६.६७ प्रतिशत यानिकी १ हजार जनाले निवदन दिँदा उनीहरुबाट बजारको भाउभन्दा थप १५ रुपैयाँ असुल गरेपछि सहुजीलाई १५ हजार फाइदा हुन्छ। त्यसैगरि फोटोकपी गरिएको निवेदनको समेत १५ रुपैयाँका दरले थप १५ हजार नाफा हुन्छ।
सोझै हिसाब लगाउदा केही दिनमै बैजनाथ फोटोकपी पसलले कालोबजारी गरेर खुद नाफाभन्दा ३० हजार थप कमाउने देखिन्छ।
उक्त पसलले पीडितहरुमाथि अन्याय गरिरहँदा प्रशासन भने मूकदर्शक बनेको देखिन्छ।
यस विषयमा फोटोकपी सेन्टरका सञ्चालक प्रेम ऎरले कलर प्रीन्टको १० रुपैयाँका हिसाबले लिएको बताएका छन्। साथै उनले अफ्नो पर्न जाने रकम अनुसार निवेदन लेखेको २० रुपैयाँ लिएको समेत बताएका छन्।