बुटवल – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराए ।
आज शपथ लिएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी तोकिएको छ । गत वैशाख १५ गते नियुक्त भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो नेतृत्वको सरकारमा आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
यसका साथै गत वैशाख १५ गते नियुक्त बिना विभागीयमन्त्रीलाई पनि मुख्यमन्त्री चौधरीले आज जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
सोही दिन नियुक्त नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो । कांग्रेसका डिल्ली चौधरी नेतृत्व सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक÷एक र स्वतन्त्र एक सांसद गरी ५३ जना प्रदेशसभा सदस्यको समर्थन छ ।